News Griha :: न्यूजगृह
युरोकपको पहिलो सेमिफाइनल आज, स्पेनको जितमा ब्रेक लगाउँदै फाइनलमा पुग्ने दाउमा फ्रान्स

काठमाडौं — युरोकप २०२४ को पहिलो सेमिफाइनलमा आज राति स्पेन र फ्रान्सले एकअर्काविरूद्ध खेल्दै छन्। खेल नेपाली समय अनुसार राति पौने १ बजे जर्मनीमा हुनेछ।

जारी प्रतियोगितामा युवा बाहुल्य रहेको स्पेन सबैभन्दा बढी गोल गर्ने टिम हो। स्पेनले पाँच खेल जित्ने क्रममा ११ गोल गरिसकेको छ । यसबीच स्पेनले दुई गोल मात्र खाएको छ।

फ्रान्सले सेमिफाइनल पुग्ने क्रममा अहिलेसम्म अपेक्षाकृत प्रदर्शन गर्न सकेको छैन। अहिलेसम्म ओपन प्लेमा गोल गर्न सकेको छैन। फ्रान्सले दुई गोल आत्मघाती रूपमा प्राप्त गरेको थियो। एक गोल केलियन एम्बापेले पेनाल्टीमा गरेका थिए। फ्रान्स सबभन्दा कम गोल बेहोरेर अन्तिम चारमा पुगेको छ।

त्यसैले फ्रान्सको डिफेन्स कडा छ भन्दा फरक पर्दैन। अहिलेसम्म फ्रान्सले एक मात्र गोल बेहोरेको छ। सो गोल पनि फ्रान्सले पोल्याण्डविरुद्धको खेलमा पेनाल्टीमा खाएको हो। सो प्रतियोगितामा स्पेन शतप्रतिशत जितको नतिजा निकाल्ने एक मात्र टिम हो।

यसैगरी स्पेन चौथो पटक र फ्रान्स तेस्रो पटक युरो च्याम्पियन बन्ने दाउमा रहेका छन्। सन् १९६४, २००८ र २०१२ मा स्पेन तथा सन् १९८४ र २००० मा फ्रान्स युरो च्याम्पियन बनेका थिए। युरोपेली च्याम्पियनसिपको सेमिफाइनलमा स्पेन पुगेको यो छैटौँ पटक हो।

जसमध्ये स्पेन अन्तिम चारमा मात्र एक पटक हारेको छ। युरो– २०२० को सेमिफाइनलमा स्पेनले तत्कालीन च्याम्पियन इटालीसँग टाइब्रेकरमा पराजित भएको थियो।

फ्रान्सले पनि छैटौँ पटक सेमिफाइनल खेल्दै छ। जसमध्ये फ्रान्स तीन पटक फाइनलमा पुगेको छ। पछिल्ला चार प्रमुख प्रतियोगितामा फ्रान्स तीनमा सामेल भएको छ। सन् २०१६ को युरो फाइनलमा पोर्चुगलसँग १–० ले हारेको फ्रान्सले सन् २०२२ को विश्वकपमा पनि अर्जेन्टिनासँग टाइब्रेकरमा पराजित भएको थियो। सन् २०१८ मा भएको विश्वकप भने फ्रान्सलाई फाइनलमा क्रोएसियालाई हराउँदै जितेको थियो।

स्पेन र फ्रान्स दुवैले अतिरिक्त समयमा आआफ्ना प्रतिद्वन्द्वीलाई हराएर सेमिफाइनलमा स्थान बनाएका हुन्। फ्रान्सलाई अन्तिम चारमा पुग्न पोर्चुगलविरुद्ध टाइब्रेकरसम्म खेल्नु परेको थियो।

स्पेन आयोजक जर्मनीविरुद्धको क्वार्टरफाइनलको ११९ औँ मिनेटमा स्थानापन्न खेलाडी मिकेल मेरिनोले गोल गरेपछि मात्र अघि बढेको हो। सेमिफाइनल पुग्ने क्रममा स्पेनले ठुलो मूल्य पनि चुकाउनु पर्‍यो । मिडफिल्डर पेड्री जर्मनीविरुद्धको खेलमा गम्भीर रूपमा घाइते भए। उनले अब बाँकीका खेल खेल्न सक्ने छैनन्। उनको स्थान २१ वर्षीय डानी ओल्मोले लिने पक्का छ।

जर्मनीविरुद्ध रोड्रीकै स्थानमा मैदान छिरेर ओल्मोले पहिलो गोल गरेका थिए। स्पेनका अनुभवी डिफेन्डर डानी काराभाल र रोविन लि नोरमान्ड पनि फ्रान्सविरुद्धको खेलमा देखिने छैनन्। जर्मनीविरुद्धको खेलमा रातो कार्ड पाएपछि काराभाल र अर्का डिफेन्डर रोविन दोहोरो पहेँलो कार्डका कारण प्रतिबन्धमा छन्।

यस पक्षमा फ्रान्सका प्रशिक्षक डिडियर डेस्चाँ भाग्यमानी छन्। फ्रान्सेली टिममा चोटको समस्या छैन। कोही प्रतिबन्धमा परेका छैनन्। त्यसैले प्रशिक्षक डेस्चाँसमक्ष आफू अनुकूल टिम छान्न पूर्ण टिम रहेको छ।

फ्रान्स र स्पेनबीच अहिलेसम्म ३६ पटक भिडन्त भएको छ। जसमध्ये स्पेनले १६ र फ्रान्सले १३ खेल जितेका छन्। यद्यपि पछिल्ला आठ खेलमा फ्रान्सले पाँचमा जित हात पारेको छ।

स्पेन र फ्रान्सबिचको विजेताले दोस्रो सेमिफाइनल खेल्ने इङ्ग्ल्यान्ड र नेदरल्यान्ड्सको विजेतासँग उपाधिका लागि भिड्ने छन्।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: मंगलबार, असार २५, २०८१  ०६:३९
Weather Update