
काठमाडौं— टर्कीविरुद्ध पुनरागमन जित निकाल नेदरल्याण्ड्स युरोकप २०२४ को सेमिफाइनलमा प्रवेश गरेको छ। बर्लिनमा भएको चौथो तथा अन्तिम क्वार्टरफाइनलमा नेदरल्याण्ड्सले २–१ को जित दर्ता गरेको हो।
टर्कीले खेलको ३५औं मिनेटमा खेलमा अग्रता लिएको थियो। आर्डा गुलेरको क्रसमा समेत अकायदिनले हेडर मार्फत गोल गर्दै खेलमा टर्कीलाई अग्रता दिलाएका थिए।
दोस्रो हाफमा ६ मिनेटको अन्तरालमा दुई गोल गर्दै नेदरल्याण्ड्सले अग्रता लिन सफल भयो। ७०औं मिनेटमा मेम्फिस डिपाएको क्रसमा शक्तिशाली हेडर प्रहार गर्दै स्टेफान डेभ्रिजले खेल बराबरीमा ल्याए। ७६औं मिनेटमा नेदरल्याण्ड्सले अग्रता लियो।
डेन्जेल डमफ्रिजको क्रसमा मर्ट मल्डुरले आत्मघाती गोल गरेपछि नेदरल्याण्ड्सको पुनरागमन पुरा भयो। सोही गोल जितका लागि पर्याप्त गयो।
नेदरल्याण्ड्सले अब सेमिफाइनलमा इङ्ल्यान्डको सामना गर्नेछ। इङ्ल्यान्डले शनिबार राति स्विट्जरल्यान्डलाई हराउँदै अन्तिम चारमा स्थान पक्का गरेको थियो। अर्को सेमिफाइनलमा फ्रान्स र स्पेन भिड्ने छन्।