News Griha :: न्यूजगृह
युरोकपको क्वार्टरफाइनलमा आजराति पोर्चुगल र फ्रान्स भिड्दै

काठमाडौं— जारी युरोकपको क्वार्टरफाइनलमा  आज राति पोर्चुगल र फ्रान्सबीच खेल हुँदै छ । यो खेल नेपाली समय अनुसार राति १२:४५ बजेदेखि सुरु हुने छ । पोर्चुगलले राउन्ड १६ को खेलमा स्लोभेनियालाई पेनाल्टी सुट आउटमा ३-० गोलले विजयी हुँदै क्वार्टरफाइनलमा पुगेको हो ।  त्यस्तै फ्रान्सले भने राउन्ड १६ मा बेल्जियमलाई १-० गोल अन्तरले पराजित गर्दै क्वार्टरफाइनलमा पुगेको हो । 

२०१६ को फाइनलमा खेलेका पोर्चुगल र फ्रान्सबीच यस युरोकपको क्वार्टरफाइनलमा नै भेट भएपछि यो खेल रोमान्चक हुने भएको छ । पोर्चुगलले अहिलेसम्म एक पटक २०१६ मा युरोकपको उपाधि जितेको छ । त्यस्तै पोर्चुगल त्यसअघि २००४ मा फाइनलमा पुगेर पराजित भएको थियो ।

फ्रान्सले अहिलेसम्म १९८४ र २००० गरी दुई पटक युरोकपको उपाधि जितेको छ भने २०१६ मा उपविजेता बनेको थियो । अहिलेसम्म पोर्चुगल र फ्रान्सबीच कुल २८ खेल भएका छन् । जसमा पोर्चुगलले ६ खेल जितेको छ भने फ्रान्सले १९ खेलमा जित हासिल गरेको छ । त्यस्तै ३ खेल बराबरीमा सकिएका छन् ।

यस खेलमा आफ्नो अन्तिम युरोकप खेलिरहेका पोर्चुगलका क्रिस्टियानो रोनाल्डो प्रमुख आकर्षण हुने छन् । पछिल्लो खेलमा स्लोभेनियाविरुद्धको खेलमा पेनाल्टी मिस गरेपछि भावुक भएर मैदानमै रोएका रोनाल्डो यस खेलमा आफ्नो क्षमता अनुसारको प्रदर्शन गर्ने अवसर रहेको छ । त्यस्तै यस प्रतियोगितामा खासै प्रभाव देखाउन नसकेका फ्रान्सका केलियन एम्बाप्पेका लागि पनि आफ्नो क्षमता देखाएर आफ्नो देशलाई सेमिफाइनलमा पुर्याउने अवसर रहेको छ ।
    

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शुक्रबार, असार २१, २०८१  १४:०९
राजनीति
Weather Update