News Griha :: न्यूजगृह
जर्जियाविरुद्ध स्पेनको पुनरागमन जित

काठमाडौं— स्पेनले युरोकपको क्वार्टरफाइनलमा स्थान बनाएको छ।

जर्मनीको कोल्नमा भएको खेलमा स्पेनले ४–१ को जित निकाल्दै अर्को चरणमा स्थान पक्का गरेको हो। स्पेनको जितमा रोड्री, फाबियन रुइज, निको विलियम्स र ड्यानी ओल्मोले १–१ गोल गरे।

पछिल्लो खेलमा पोर्चुगललाई हराएको जर्जियाले सुरुवाती अग्रता लिएपछि स्पेन दबाबमा परेको थियो। १८ औं मिनेटमा जर्जियाको काउन्टर अट्याकमा आएको क्रस क्लियर गर्न खोज्दा ले नोर्मान्डले आफ्नै पोस्टमा गोल गरेका थिए।

त्यसपछि स्पेनले लगातार पोस्टमा आक्रमण गरेपनि खेल बराबर गर्न भने ३९ औं मिनेट कुर्नुपर्‍यो। पेनाल्टी क्षेत्र बाहिरबाट रोड्रीले गोल गरेपछि स्पेन खेलमा फर्कियो।

दोस्रो हाफको ५१ औं मिनेटमा रुइजले स्पेनलाई अघि बढाए। लामिन यामालले पेनाल्टी क्षेत्र बाहिरबाट दिएको पासमा रुइजले ६ यार्ड बक्स भित्रबाट हेडर गोल गरेका थिए। ७५ औं मिनेटमा विलियम्सले स्पेनको अग्रता दोब्बर पारे। जर्जियाको आक्रमण क्लियर गरेपछि सुरु भएको काउन्टरमा विलियम्सले मिडफिल्डबाट आफैं बल बढाउँदै पेनाल्टी क्षेत्र भित्र वन भर्सेज वनमा फिनिस गरे। त्यसको ठिक अघि लामिन यामालको क्रसमा आत्मघाती गोल भएपनि रेफ्रीले अफसाइड दिएका थिए।

८३ औं मिनेटमा बेन्चबाट आएका ओल्मोले स्पेनको जित पक्का गरे। उनले पेनाल्टी क्षेत्रको ठिक भित्रबाट गरेको प्रहारमा गोलरक्षकले बचाउने कुनै प्रयास गर्न सकेनन्। अब स्पेनले क्वार्टरफाइनलमा जर्मनीको सामना गर्नेछ। 

प्रकाशित मिति: सोमबार, असार १७, २०८१  ०६:४८
Weather Update