News Griha :: न्यूजगृह
कुवेतले सिङ्गापुरलाई हरायो

काठमाडौं— कुवेतले सिङ्गापुरलाई पराजित गर्दै एसीसी मेन्स प्रिमियर कप अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनल पुग्ने सम्भावाना बलियो बनाएको छ । 

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज भएको समूह ‘बी’अन्तर्गतको खेलमा कुवेतले सिङ्गापुरलाई चार विकेटले पराजित गर्दै सेमिफाइनल खेल्ने सम्भावना बलियो बनाएको हो । जितका लागि सिङ्गापुरले दिएको ११४ रनको सामान्य लक्ष्य कुवेतले २६ दशमलव ३ ओभरमा ६ विकेट गुमाएर पूरा गर्‍यो। 

कुवेतका लागि अदनान इद्रीशले २८ बलमा तीन छक्का र दुई चौका प्रहार गर्दै ३८ रन बनाए । त्यस्तै मित भावसारले ५० बलमा अविजित २७ रन बनाए । यासिन पटेलले २५ बलमा अविजित २१ रन बनाए भने शीराज खानले २० बलमा १० रन बनाए । 

बलिङतर्फ सिङ्गापुरमा अक्षय पुरी र विनोद बसकरनले समान दुई/दुई विकेट लिए भने आदित्य भारगभ र थिलिपानी उमदुराईले समान एक/एक विकेट झारे । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सिङ्गापुरले ३१ दशमलव ४ ओभरमा सबै विकेट गुमाउँदै ११३ रन बनाएको थियो । सिङ्गापुरका लागि सुरुआती ब्याट्सम्यान अर्मत्य कौलले सर्वाधिक ४५ रन बनाएका थिए । उनले ६० बलमा ४५ रन बनाए । 
    
यसैगरी मनप्रित सिंहले ४४ बलमा २८ रन बनाए भने थिलिपन उमरदुराईले १३ रन जोडे । त्यसबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । कुवेतका लागि कप्तान मोहम्मद अस्लाम एक्लैले पाँच विकेट लिए भने शिराज खानले ३ विकेट झारे । 

कुवेतले तीन खेलबाट चार अङ्क जोडेर अङ्क तालिकाको तेस्रो स्थानमा छ । कुवेत पहिलो खेलमा संयुक्त अरब इमिरेट्स (युएई) सँग पराजित भएको थियो । त्यस्तै दोस्रो खेलमा कुवेतले बहराइनलाई पराजित गरेको थियो । अब बिहीबार हुने समूह चरणको अन्तिम खेलमा हङकङलाई पराजित गरे कुवेत सेमिफाइनलमा पुग्नेछ । 

त्यस्तै यस खेलसँगै सिङ्गापुर भने अङ्कविहीन रहँदै प्रतियोगिताबाट बाहिएको छ । समूह ‘बी’मा हङकङ तीन खेलमा पाँच अङ्क जोड्दै अङक तालिकाको शीर्ष स्थानमा छ भने समान खेल खेलको युएई चार अङ्कका साथ दोस्रो स्थानमा छ । बहराइन तीन अङ्क बटुल्दै अङ्क तालिकाको चौथो  स्थानमा छ ।

प्रकाशित मिति: मंगलबार, वैशाख १२, २०८०  १५:५०
Weather Update