
काठमाडौं— आईसीसी टी२० विश्वकप २०२४ को फाइनल खेलमा भारतले दक्षिण अफ्रिका विरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ। भारतका कप्तान रोहित शर्माले बार्बाडोसमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेका हुन्।
फाइनलमा दुवै टोलीले कुनै परिवर्तन गरेका छैनन्। सेमिफाइनलमा जित हासिल गरेका टोलीका सदस्यले नै फाइनलमा उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।
जारी विश्वकपमा यी दुई टोली मात्र अपराजित रहँदै अन्तिम दुईमा पुगेका हुन् ।
दक्षिण अफ्रिकाले खेलेका सबै ८ खेल जितेको थियो। समूह चरणमा क्यानाडा सँगको खेल रद्द भए बाहेक भारतले पनि खेलेका सबै खेल जितेको थियो। विश्वकपको फाइनल खेल नेपाली समय अनुसार राति सवा ८ बजे सुरु हुने छ।
दक्षिण अफ्रिका आईसीसी प्रतियोगिताको पहिलो उपाधिका लागि चुनौती पेस गर्दैछ। भारत ११ वर्षयताको उपाधि खडेरी तोड्ने योजनामा छ ।
सन् २००७ मा दक्षिण अफ्रिकामै आयोजना भएको पहिलो संस्करणको विजेता भारत २०१४ को फाइनलमा श्रीलंकासँग पराजित भएको थियो ।
दक्षिण अफ्रिका सेमिफाइनलमा अफगानिस्तानलाई ९ विकेटले हराउँदै पहिलो पटक आईसीसी प्रतियोगिताको फाइनलमा प्रवेश गरेको थियो । टी२० विश्वकपमा भारतको यो तेस्रो फाइनल हो ।
भारतले सुपर एटमा एकदिवसीय विश्वकप च्याम्पियन अष्ट्रेलियालाई हराएको थियो। सेमिफाइनलमा साविक विजेता इंग्ल्यान्डलाई पराजित गरेको थियो।