News Griha :: न्यूजगृह
रास्वपाले महामन्त्री ढकाललाई सोध्यो स्पष्टीकरण 

काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को अनुशासन आयोगले पार्टी महामन्त्री मुकुल ढकाललाई स्पष्टीकरण सोधेको छ।

महामन्त्री ढकालले पेस गरेको प्रतिवेदन मिडियामा सार्वजनिक गरेको भन्दै उनलाई स्पष्टीकरण सोधिएको हो।

महामन्त्री ढकालले देशका ३८ जिल्ला घुमेर १ महिना लामो समीक्षा यात्रापछि बुधबार ३२ पेजको प्रतिवेदन पार्टी सभापति तथा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई बुझाएका थिए।

ढकालले आफ्नो प्रतिवेदन पार्टीलाई बुझाउनु अघि नै मिडियामा प्रचारबाजी गरेको भन्दै पार्टी भित्र व्यापक विरोध भइरहेको छ।

उनले प्रतिवेदनमा रास्वपाले बेलैमा कठोर निर्णय नलिएमा केही समयमा नै पार्टी विवेकशीको हालतमा पुग्ने, तत्काल सरकारबाट हट्नुपर्ने, एमाले माओवादीसँगको साँठगाँठ त्यागेर काठमाडौंका मेयर बालेन शाह र धनगडीका मेयर गोपी हमालसँग मिल्नुपर्ने सुझाव दिएका थिए।

महामन्त्री ढकालले आफ्नो सचिवालयमा पत्र आइपुगेको बताए।

‘मलाई पत्र प्राप्त भएको छ। तर कसले पठाएको भनेर मैले खोलेर हेरेको छैन। पढेको पनि छैन। सभापतिबाहेकले मलाई स्पष्टीकरण सोध्न मिल्दैन। सभापतिसँग एकछिन पहिले कुरा हुँदा स्पष्टीकरण सोधेको छैन भन्नुभएको हो,’ महामन्त्री ढकालले न्यूजगृहसँग भने, ‘तर पत्र चाँहि मेरो सचिवालयमा आइसकेको छ ।’ 

-अपडेट गरिएको

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शुक्रबार, असार १४, २०८१  २१:०३
Weather Update