News Griha :: न्यूजगृह
देश दौडाहपछि रास्वपा महामन्त्रीको निष्कर्षः पार्टी गम्भीर दुर्घटनाको मोडमा
फाइल तस्बिर

काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री डा. मुकुल ढकालले पार्टीको पक्षमा बाहिर भनिएको जस्तो जनमत नभएको समीक्षा गरेका छन्। 

महामन्त्री ढकालले देशदौडाहपछि आम मतदाता र जनताको भावना बुझेपछि सो निष्कर्ष निकालेका हुन्। रास्वपाले महामन्त्री ढकाललाई पार्टीको अवस्थाबारे बुझ्न देश दौडाहमा पठाएको थियो। त्यहाँबाट फर्किएपछि पाएको प्रतिक्रियालाई उनले प्रतिवेदनका रुपमा तयार गर्दै सभापति रवि लामिछानेलाई बुझाउने तयारी गरेका छन्। 

उनले तयार पारेको प्रतिवेदनमा अहिले भनिएको जस्तो पार्टीको जनमत नभएको र अहिले नै चुनाव हुने हो भने पार्टी हम्मेहम्मे तरिकाले राष्ट्रिय पार्टी बन्ने तर प्रत्यक्षमा एक दुई सिट भन्दा बढी जित्न नसक्ने दाबी गरेका छन्। त्यस्तै यसलाई आत्मसाथ गरेर अघि बढ्न नसकेका पार्टी विवेकशील साझाको हालतमा पुग्ने समेत उनले उल्लेख गरेका छन्।

‘आज पार्टीको वर्तमान भनेको जनमत छैन। जनमत कति छ त्यसको आधारमा आज नै चुनाव हुने हो भने पार्टी हम्मेहम्मे तरिकाले राष्ट्रिय पार्टी बन्ला र प्रत्यक्षमा एक–दुई सिट जित्ला। भोलिका दिनहरूमा आजकै स्थिति अनुसार अघि बढे पार्टीको हालत विवेकशीलको जस्तो हुनेछ,’ उनले प्रतिवेदनमा भनेका छन्। 

आफूले देशभर घुम्दा पार्टीको भविष्यलाई नजिकबाट देखेपछि पार्टीको जोखिमपूर्ण भविष्यका बारेमा अवगत गराउँदा आफ्नो राजनीतिक भविष्यलाई नै जोखिम मोलेको स्पष्ट पारेका छन्। 

‘यो भविष्यलाई नजिकबाट देखेपछि भन्नु वा लेख्नु उपयुक्त हुन्छ वा हुँदैन भन्ने प्रश्न ममा आयो। भागवत गीतालाई मैले सधैँ मानेको छु। श्रीकृष्णको बचनलाई सधैँ पछ्याएको छु। महाभारतमा श्रीकृष्णले सहदेवलाई नबोल्नु भनेका रहेछन्। तर मलाई मेरो पार्टीको माया छ र चिन्ता छ,’ उनले भनेका छन्, ‘भोलि दुर्घटना हुँदै छ भन्दा मेरो महामन्त्री पदको मृत्यु पनि हुन सक्छ वा मलाई घोक्र्याएर पार्टीबाट निकाल्न पनि सक्छन्। मेरो आगामी राजनीतिक जीवनको लागि यो घातक साबित हुनेछ। तथापि यो पटक कृष्णको वाणीभन्दा एउटा धुन मभित्र गुन्जियो म मरे पनि मेरो पार्टी बाँचिरहोस्।’

त्यस्तै आफूले तयार पारेर पार्टीलाई बुझाउन लागिएको प्रतिवेदन सार्वजनिक हुनुपर्नेमा उनको जोड रहेको छ। प्रतिवेदनमा उनले पार्टीको हालतबारे आफूले तयार पारेको प्रतिवेदन जनताले समेत थाहा पाउनुपर्ने बताएका छन्। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बुधबार, असार १२, २०८१  १५:०९
Weather Update