News Griha :: न्यूजगृह
महामन्त्रीको प्रतिवेदनले रास्वपामा हलचल

काठमाडौं— गत वैशाख १५ गते इलाम र बझाङमा भएको उपनिर्वाचनपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले देशभरका जनताको मनोभावना बुझ्न चाह्यो। छोटो समयमा ठूलो सफलता, आशा साथसाथै धेरै आलोचना खेपेको दलबारे आम जनताको वास्तविक धारणा के छ? उसलाई जान्न मन लाग्यो। 

पार्टी सचिवालयको बैठक बसी महामन्त्री डा. मुकुल ढकाललाई रास्वपाले गाउँगाउँ पुगेर आम जनताको रास्वपाप्रतिको धारणा बुझ्न खटायो। 

गत जेठ ६ गते बनस्थलीस्थित घण्टीघरबाट निस्किएका डा. मुकुलले ३८ जिल्ला पुगेर गत असार ५ गते काठमाडौं आइपुगे। उनको दाबी अनुसार उनले २ हजार ७९ जना भन्दा बढीसँग दोहोरो अन्तर्क्रिया गरे। महलदेखि जङ्गलसम्म बस्ने जनतासँग भेटे। हिमााल, पहाड, मधेसका सुगमदेखि दुर्गमका बस्ती पुगी ८० किलोमिटर पैदल र ४ हजार २ सय १६ किलोमिटर सडक यात्रा पार गर्दै उनले रास्वपाको वस्तुस्थितीबारे थाहा पाए। 

०७९ मंसिरको भन्दा आगामी निर्वाचनमा झन मौलाएर रास्वपा आउँछ भन्ने बाहिरको हल्ला केवल हल्ला मात्रै रहेको निष्कर्ष उनले निकालेका छन्। उनले बुधबार साँझ गृह मन्त्रालयमा पुगेर पार्टी सभापति समेत रहेका गृहमन्त्री रवि लामिछानेलाई बुझाएको प्रतिवेदनले त्यही भन्छ। 

उनले उक्त प्रतिवेदन बुझाएपछि त्यसमा के छ भन्नेबारे धेरैको चासो छ। प्रतिवेदनबाट बाहिरिएका केही वाक्यांशले उनले उक्त प्रतिवेदन तयार गरेर आफ्नो राजनीतिक जीवन नै धरापमा राखेको समेत दाबी गरेका छन्। उनले आफ्नै राजनीतिक जीवनलाई नै धरापमा राखेर लेखिएको दाबी गरिएको उक्त प्रतिवेदनमा खास केही छन् भन्ने अनुमान लगाउन सकिन्छ। स्थापनाको छोटो समयमा नै बाहिर देखिने गरी पार्टीभित्र विवाद नभएका होइनन् तर त्यसलाई गुपचुप पारियो, त्यो रास्वपाको कोर टिमलाई थाहा होला। तर महामन्त्री ढकालको दाबी अनुसार यदी त्यो प्रतिवेदन जस्ताको तस्तै सार्वजनिक भएमा रास्वपाभित्र विग्रह हुने र यसअघि जनताले बुझ्न खोजेका तथ्यहरु समेत त्यसमा देखिने पक्का नै छ। जसकारण उनले उक्त प्रतिवेदन जस्ताको तस्तै सार्वजनिक गरेर आफूमाथि न्याय गर्न समेत माग गरेका छन्। 

‘यसमा मेरो व्यक्तिगत राजनीतिको सवाल छ। मैले गर्दै नगरेको कामहरुलाई पनि मेरो नाममा थुपारिदिएर पार्टीभित्र घृणित राजनीति भयो। मेरा कुरा के के हुन्, जनतालाई मैले कहिले भन्नै पाइन। नराम्रा जति मेरा, राम्रा जति सबै अरुका भए। मेरा कुरा पनि के छन्, त्यो जनताले थाहा पाउनुपर्छ। मेरो पनि राजनीतिक अधिकार हो। यो प्रतिवेदन ११.३ लाख जनता जसले घण्टीमा भोट हाले, उहाँहरुले पनि थाहा पाउनुपर्छ। यो प्रतिवेदन सार्वजनिक नगरिनु ममाथि पार्टीले गरेको अन्याय हुन्छ। ममाथि न्याय गरियोस्, यो प्रतिवेदन जस्ताको तस्तै सार्वजनिक गरियोस्,’ उनले भनेका छन्।

त्यतिमात्र होइन उनले उक्त प्रतिवेदन सार्वजनिक भएमा आफूलाई राजनीतिबाटै घोक्रयाइन सक्ने प्रतिवेदनमा उल्लेख गरेका छन्। महामन्त्री ढकालको प्रतिवेदनले रास्वपाको राजनीतिमा एक किसिमको हलचल नै ल्याएको एक नेताले बताए। बुधबार बुझाएको प्रतिवेदन गृहमन्त्री समेत रहेका पार्टी सभापति लामिछानेले राखेका छन्। उनले त्यसलाई अध्ययन गरेर मात्रै अन्य नेताहरुलाई दिनसक्ने ती नेताको दाबी छ। 

महामन्त्री ढकालले तयार पारेको प्रतिवेदनमा पार्टी कमजोर अवस्थामा रहेको चित्रण गरेको छ। त्यसो त पार्टीको जनमत खस्कियो कि भन्ने आवाज उठेपछि नै उनलाई जनताको भावना बुझ्न खटाइएको थियो। उनले पार्र्टी विवेकशील साझाको हालतमा पुग्ने संशय समेत व्यक्त गरेका छन्। 

यता रास्वपाका सांसद शिशिर खनाल आफूहरुले महामन्त्रीले बुझाएको उक्त प्रतिवेदन गम्भीरतापूर्वक अध्ययन गर्ने बताउँछन्। खनाल पनि पार्टी कमजोर अवस्थामा रहेको कुरा स्वीकार गर्छन्। 

‘हामी कमजोर भयौँ कि भन्ने आवाज पार्टीभित्रै पनि उठेको छ। पार्टीले उपनिर्वाचनपछि केही कमजोर भैयो कि भनेर उहाँलाई खटाएको हो। उहाँले केही कुरा पत्ता लगाएर ल्याएको छु भनेपछि हामी अत्यन्त गम्भीरताका साथ अध्ययन गर्छौँ,’ उनले भने।   

डा. मुकुलले आफ्नो राजनीतिलाई नै धरापमा राखेर तयार पारेको प्रतिवेदन रास्वपाले जस्ताको तस्तै सार्वजनिक गर्ला? वा केही परिमार्जन गरेर सार्वजनिक गर्ला? वा उसले त्यसलाई सार्वजनिक नै नगर्ला? त्यो भने प्रतिक्षाको विषय बन्नेछ। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बिहीबार, असार १३, २०८१  १८:३५
Weather Update