
काठमाडौं— आईसीसी टी–२० विश्वकप क्रिकेटको दोस्रो सेमिफाइनल खेल आज राति हुँदै छ। नेपाली समय अनुसार राति सवा ८ बजे सुरुहुने खेलमा भारत र इङ्ग्ल्याण्ड आमनेसामने हुने छन्। पहिलो सेमिफाइनलमा एकतर्फी जित निकाल्दै दक्षिण अफ्रिका फाइनलमा प्रवेश गरिसकेको छ। आज राति हुने दोस्रो खेलको विजेताले उपाधिका लागि दक्षिण अफ्रिकासँग खेल्ने छ।
टी२० विश्वकप २०२२ को सेमिफाइनलमा इङ्ग्ल्याण्डले भारतलाई १० विकेटले पराजित गरेको थियो। जोस बटलर र एलेक्स हेल्सको कप्तानीमा रहेको इङ्ग्ल्याण्डले उत्कृष्ट प्रदर्शन गर्दै भारतलाई लज्जास्पद हार चखाएको थियो। टस जितेर ब्याटिङ गरेको भारतले १६९ रनको लक्ष्य दिएको थियो। इङ्ग्ल्याण्डले १६ ओभरमै लक्ष्य पुरा गरेको थियो। २०२२ को बदला लिनका लागि भारतलाई आज मौका रहेको छ। अहिले भारतको टोलीले विश्वकपमा राम्रो प्रदर्शन गरिरहेको छ।
टी२० विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्दै आएको भारतीय टोली अस्ट्रेलियालाई हराउँदै सेमिफाइनलमा पुगेको हो। भारत यस प्रतियोगितामा अहिलेसम्म अपराजित छ र समूह चरणपछि सुपर एटमा पनि शीर्ष स्थानमा रहेर फाइनल खेल्दै छ। उता इङ्ग्ल्याण्डले अमेरिकालाई हराउँदै सेमिफाइनलमा प्रवेश गरेको थियो। यसअघि पनि २०२२ मा दुवै टोली अन्तिम चारमा आमनेसामने भएका थिए जहाँ इङ्ग्ल्याण्डको टोली जित दर्ता गर्न सफल भएको थियो।
नकआउट खेलमा भारतीय टोली फेरि एकपटक रोहित शर्माको नेतृत्वमा जोस बटलरको सेनासँग भिड्नेछ। टी२० क्रिकेटमा यी दुई टोलीले २३ पटक भिडेका छन् जसमा भारतको अग्रता छ। भारतले १२ खेल जितेको छ भने इङ्ल्यान्डले ११ खेलमा जितको स्वाद चाखेको छ। टी२० विश्वकपको इतिहासमा इङ्ग्ल्याण्डले भारतसँग चार पटक सामना गरेको छ। दुवै टोलीले दुईदुई खेल जितेका छन्।
यो खेलमा भारतले फेरि रोहित शर्माबाट बलियो प्रदर्शनको अपेक्षा गरेको छ। अस्ट्रेलियाविरुद्ध उनको ब्याट चलेको थियो। उनले ९२ रनको तुफानी पारि खेल्दै स्टार्क र प्याट कमिन्सलाई ध्वस्त पारेका थिए। आगामी खेलमा पनि उनीबाट यस्तै प्रदर्शनको अपेक्षा गरिएको छ। रोहितको साथमा विराट कोहली देखिनेछन्। तर, स्टार ब्याट्सम्यानको फर्म चिन्ताको विषय बनेको छ। हालसम्म जारी प्रतियोगितामा उनले ६६ रन मात्र बनाउन सकेका छन्। यस्तो अवस्थामा फेरि एकपटक यशस्वी जैसवालले बाहिर बस्नु पर्ने हुनसक्छ। उनी अहिलेसम्म प्लेइङ ११ मा परेका छैनन्।
विकेटकिपर ब्याट्सम्यान ऋषभ पन्त तेस्रो नम्बरमा रहनेछन्। पछिल्लो ६ खेलमा उनले १३२.५३ को स्ट्राइक रेटमा १६७ रन बनाएका छन्। सूर्यकुमार यादव चौथो नम्बरमा ब्याटिङ गर्दैछन्। हालको प्रतियोगितामा उनले दुई अर्धशतकको सहयोगमा १४९ रन बनाएका छन्। उनी इङ्ल्याण्डविरुद्धको खेलमा भारतका लागि सबैभन्दा ठूलो आशा हुनेछन्। शिवम् दुबे पाँचौं नम्बरमा आउनेछन्। यस्तो अवस्थामा सन्जु सैमसन बाहिर बस्नु पर्ने हुनसक्छ। योसँगै उपकप्तान हार्दिक पाण्ड्याले फेरि एक पटक फिनिसरको भूमिका निर्वाह गर्नु पर्ने हुने छ। उनी टी२० विश्वकपमा बल र ब्याटबाट चम्किएका छन्।
स्पिन विभागमा रविन्द्र जडेजा, अक्षर पटेल र कुलदीप यादव पक्कै छन्। तीनै बलरले आफ्नो घातक बलिङबाट वेस्ट इन्डिजको पिचमा विशेष प्रभाव छोडेका छन्। यससँगै जसप्रित बुमराहले फास्ट बलिङ आक्रमणको जिम्मेवारी सम्हाल्ने देखिएका छन्। उनलाई अर्शदीप सिंहले साथ दिनेछन्। हार्दिक पाण्ड्याले पनि आफ्नो चार ओभर बलिङ गर्नु पर्ने छ।
यसैगरी इङ्ग्ल्याण्डका कप्तान जोस बटलरको भारतविरुद्ध उत्कृष्ट कीर्तिमान छ। आफ्नो ठूला छक्काको साथ, बटलरले कुनै पनि टोलीलाई घुँडा टेकाउन सक्छन्। अमेरिकाविरुद्धको अन्तिम खेलमा उनले स्पिनर हरप्रीतलाई लगातार ५ छक्का प्रहार गरेका थिए। यस विश्वकपको ६ इनिङ्समा बटलरले ४८ को औसतमा १९१ रन बनाएका छन्।
त्यसैगरी इङ्लिस लेग स्पिनर आदिल रसिद अहिले उत्कृष्ट फर्ममा छन्। उनले यो विश्वकपमा ७ खेलमा ९ विकेट लिएका छन्। उनले ओमानविरुद्ध ११ रन दिएर ४ विकेट लिए, जसको मद्दतमा इङ्ल्यान्डले ओमानलाई ४७ रनमा अलआउट गरेको थियो। यो खेल इङ्ग्ल्याण्डका लागि यो विश्वकपको महत्वपूर्ण खेल थियो ।
सम्भावित ११
भारतः रोहित शर्मा (कप्तान), विराट कोहली, ऋषभ पन्त (विकेटकिपर), सूर्यकुमार यादव, शिवम् दुबे, हार्दिक पाण्ड्या, रविन्द्र जडेजा, अक्षर पटेल, कुलदीप यादव, जसप्रित बुमराह र अर्शदीप सिंह।
इङ्ग्ल्याण्ड: फिल साल्ट, जोस बटलर (कप्तान र विकेटकिपर), जोनी बेयरस्टो, ह्यारी ब्रुक, मोइन अली, लियाम लिभिङस्टोन, साम कुरान, क्रिस जोर्डन, जोफ्रा आर्चर, आदिल राशिद, रीस टोपले।