
काठमाडौं— आईसीसी टी२० विश्वकप २०२४ मा दक्षिण अफ्रिका पहिलोपटक फाइनलमा पुगेको छ। अफगानस्तानलाई ९ विकेटले हराउँदै दक्षिण अफ्रिका जारी टी२० विश्वकपमा फाइनल यात्रा तय गरेको हो।
सोमबार भएको पहिलो सेमिफाइनलमा ऐतिहासिक जित निकाल्दै दक्षिण अफ्रिका विश्वकप क्रिकेटमा पहिलो पटक फाइनलमा पुगेको हो। यसअघि एकदिवसीयमा ५ र टी२० मा दुई पटक सेमिफाइनलबाट बाहिरिएको थियो।
५७ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले ८.५ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्यो। रिजा हेन्डिक्स २५ बलमा ३ चौका र १ छक्कासहित २९ रनमा अविजित रहे। एडेन माक्ररम २१ बलमा ४ चौकासहित २३ रनमा नट आउट रहे।
ओपनर क्विन्टन डि कक तीव्र गतिका बलर फजलहक फारुकीको बलमा ५ रनमै बोल्ड भएका थिए। त्यसपछि दोस्रो विकेटका लागि माक्ररम र रिजाले ४३ बलमा ५५ रनको साझेदारी गर्दै फाइनलमा स्थान पक्का गराए।
त्यसअघि बायन लारा क्रिकेट स्टेडियम ट्रिनिडाडमा टस जितेर पहिला ब्याटिङ रोजेको अफगानस्तान ११.५ ओभरमा ५६ रनमा अल आउट भयो। अफगानस्तानका १० खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्।
आजमतुल्लाह ओमरजाईले १२ बलमा २ चौकासहित सर्वाधिक १० रन बनाए। गुलबदिन नैबले ९, राशिद खान र करिम जन्नतले ८–८ रन बनाए।
दोस्रो सेमिफाइनलमा आज राति इंग्ल्यान्ड र भारतबीच प्रतिस्पर्धा हुँदैछ। फाइनल शनिबार हुनेछ।