News Griha :: न्यूजगृह
अफगानस्तानले दक्षिण अफ्रिकाको सामना गर्दा भारत र इङ्ल्याण्ड भिड्ने,  यस्तो छ ‘हेड टु हेड’

काठमाडौं— जारी टी२० विश्वकपको सेमिफाइनलको समीकरण पुरा भएको छ। सेमिफाइनलमा भारत, अफगानस्तान, दक्षिण अफ्रिका र इङ्ल्याण्ड पुगेका छन्।

सुपर आठको समूह १ बाट भारत र अफगानस्तान सेमिफाइनलमा पुगेका छन् भने अस्ट्रेलिया र बंगलादेश बाहिरिएका छन्। त्यस्तै समूह २ बाट दक्षिण अफ्रिका र इङ्ल्याण्ड सेमिफाइनलमा पुगेका छन् भने वेस्ट इन्डिज र अमेरिका बाहिरिएका छन्।

अब सेमिफाइनलका दुवै खेल बिहीबार हुने छन्। बिहीबार बिहान पहिलो सेमिफाइनल खेल दक्षिण अफ्रिका र अफगानस्तानबीच हुने छ। ट्रिनाडस्थित ब्रायन लारा स्टेडियममा हुने पहिलो सेमिफाइनल खेल नेपाली समय अनुसार बिहान ६:१५ बजेदेखि सुरु हुने छ।

दक्षिण अफ्रिका सुपर आठमा तिनै खेल जितेर सेमिफाइनलमा पुगेको हो भने अफगानस्तानले अस्ट्रेलिया र बङ्गलादेशलाई हराउँदै सेमिफाइनलमा पुगेको हो। यस विश्वकपमा दुवै देशको यात्रा रोचक रहेको छ। दक्षिण अफ्रिकाले अहिलेसम्म अपराजित रहेपनि सबै खेलमा सङ्घर्षपूर्ण जित हासिल गर्दै सेमिफाइनलसम्म पुगेको छ भने अर्को तर्फ अफगानस्तानले समूह चरणमा न्युजिल्याण्ड र सुपर आठमा अस्ट्रेलियालाई पराजित गरेर सेमिफाइनलमा पुगेको छ।

त्यस्तै दक्षिण अफ्रिका १० वर्षपछि विश्वकपको सेमिफाइनलमा पुगेको छ। यसअघि सन् २०१४ को विश्वकपमा दक्षिण अफ्रिका सेमिफाइनलमा पुगेको थियो। त्यसअघि २००९ को विश्वकपमा सेमिफाइनलमा पुगेको थियो। दक्षिण अफ्रिका विश्वकपमा अहिलेसम्म सेमिफाइनलभन्दा अगाडि बढ्न सकेको छैन।

त्यस्तै अफगानस्तान भने इतिहास बनाउँदै पहिलो पटक विश्वकपको सेमिफाइनलमा पुगेको छ। दक्षिण अफ्रिका र अफगानस्तानबीच अहिलेसम्म २ टी२० खेल भएका छन्। जसमा दुवै खेल दक्षिण अफ्रिकाले जितेको छ।

त्यसैगरी दोस्रो सेमिफाइनल खेल भारत र इङ्ल्याण्डबीच हुने भएको छ। गुयनास्थित प्रोभीडेन्स स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राति ८:१५ बजेदेखि सुरु हुने छ। 

भारत यस विश्वकपमा अपराजित हुँदै सेमिफाइनल सम्म पुगेको छ भने इङ्ल्याण्ड पनि अहिलेसम्म उत्कृष्ट खेल देखाउदै सेमिफाइनलमा पुगेको छ। इङ्ल्याण्ड समूह चरणमा अस्ट्रेलियासँग र सुपर आठमा दक्षिण अफ्रिकासँग पराजित भएको थियो। 

भारतले २००७ को टी२० विश्वकपको पहिलो संस्करण जितेपछि अहिलेसम्म विश्वकप जित्न सकेको छैन। २०१४ मा उपविजेता बनेको भारत पछिल्लो विश्वकपमा सेमिफाइनलबाट बाहिरिएको थियो। त्यस्तै इङ्ल्याण्डले भने २०१० र २०२२ को विश्वकप जितेको थियो।  

भारत र इङ्ल्याण्डबीच अहिलेसम्म २३ टी२० खेल भएका छन्। जसमा भारतले १२ र इङ्ल्याण्डले ११ खेल जितेका छन्। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बुधबार, असार १२, २०८१  ०७:४५
Weather Update