News Griha :: न्यूजगृह
युरोकप: फ्रान्स र नेदरल्याण्ड्स सम्मिलित समूह ‘डी’ को शीर्षस्थानमा अस्ट्रिया

काठमाडौं— नेदरल्याण्ड्सलाई हराउँदै अस्ट्रिया युरो २०२४ को अन्तिम १६ मा प्रवेश गरेको छ। अन्तिम खेलमा ३–२ को जित हासिल गर्दै टोली समूह ‘डी’को समूह विजेता बनेको हो।

फ्रान्ससमेत रहेको कठिन समूहमा परे पनि राल्फ राग्निकको टोली तीनमध्ये दुई खेल जित्दै समूहको शीर्ष स्थानमा रहन सफल भयो। अस्ट्रिया र फ्रान्स शीर्ष दुई टिमका रूपमा अन्तिम १६ मा पुगे भने नेदरल्याण्ड्स पनि उत्कृष्ट तेस्रो स्थानमा पर्ने टिमबाट अर्को चरण पुगेको छ।

मंगलबार राति भएको खेलमा डोनयेल मालेनको आत्मघाती गोलको मद्दतले अस्ट्रियाले खेलको सुरुवातमा नै अग्रता लिएको थियो। त्यसपछि पहिलो हाफ थप कुनै गोल नभई सकिएको थियो।

दोस्रो हाफमा भने गोलको वर्षा भयो। ४७ औँ मिनेटमा नै नेदरल्याण्ड्सका कोडी गाक्पोले सुन्दर गोल गर्दै खेल बराबरी गरे। ५९ औँ मिनेटमा रोमानो स्मिडले पुनः अस्ट्रियालाई अग्रता दिलाए।

७५ औँ मिनेटमा मेम्फिस डिपायले गोल गरेपछि खेल २–२ को बराबरीमा पुग्यो । तर, ५ मिनेटपछि नै मार्सेल साबिट्जरले गोल गर्दै अस्ट्रियालाई जित दिलाए।

उता फ्रान्सले पोल्यान्डसँग बराबरी खेलेपछि टोली दोस्रो स्थानमा नै चित्त बुझाउन बाध्य बन्यो । दुई टोलीबिचको खेल १–१ को बराबरीमा टुङ्गियो।

५६ औ मिनेटमा किलियान एम्बाप्पेले पेनाल्टीमार्फत फ्रान्सलाई अग्रता दिलाए पनि ७९ औँ मिनेटमा रोबर्ट लेवान्डोस्कीले पेनाल्टीबाटै बराबरी गोल फर्काए।

३ खेलपछि समूह डीमा अस्ट्रियाको ६ अङ्क रह्यो। फ्रान्सले ५ अङ्क बटुल्दा नेदरल्याण्ड्स ४ अङ्कमा सीमित बन्यो। जितविहीन पोल्यान्ड मात्र १ अङ्कमा चित्त बुझाउन बाध्य बन्यो।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बुधबार, असार १२, २०८१  ०७:०६
Weather Update