
काठमाडौं— इटाली जारी युरोकपको नक आउट चरणमा पुगेको छ। गएराति सम्पन्न समूह बी अन्तर्गतको खेलमा क्रोसियासँग १-१ गोलको बराबरी खेल्दै इटाली प्रतियोगिताको नक आउट चरणमा पुगेको हो।
इटालीका लागि ९० मिनेटपछिको इन्जुरीसमयमा माटिया जाकाग्नीले गोल गर्दै बराबरी गोल गरेका थिए। यस अघि खेलको ५५औं मिनेटमा लुका मोड्रीचले गोल गर्दै क्रोसियालाई सुरुवाती अग्रता दिलाएका थिए।
गएराति नै सम्पन्न समूह बी को अर्को खेलमा स्पेनले अल्बानियालाई १-० गोल अन्तरले पराजित गरेको छ। स्पेनले खेलको १३औं मिनेटमा फारान टोरेजको गोलमा जित हासिल गरेको हो।
यो जितपछि समूह बी मा तिनै खेल जितेर ९ अंक सहित स्पेन शीर्ष स्थानमा रहेको छ र नक आउट चरणमा पुगेको छ भने इटालीले ३ खेलमा ४ अंकसहित समूहमा दोस्रो हुदै नक आउट चरणमा पुगेको छ।
त्यस्तै क्रोसियाको ३ खेलमा २ अंक रहेको छ र नक आउटमा पुग्ने सम्भावना कायम रहेको छ। अब समूह चरणका खेलपछि ६ वटै समूहका तेस्रो स्थानमा रहेका देश मध्ये शीर्ष चारमा रहन सकेमा क्रोसिया नकआउट चरणमा पुग्ने छ । अहिले भने क्रोसिया पाँचौं स्थानमा रहेको छ।
त्यस्तै समूह बी बाट अल्बानिया भने ३ खेलमा एक अंक हासिल गर्दै प्रतियोगिताबाट बाहिरिएको छ।