कोपा अमेरिकामा कोलम्बियासँग पाराग्वे २–१ गोल अन्तरले पराजित

काठमाडौं— कोपा अमेरिकामा कोलम्बियाले विजयी सुरुवात गरेको छ।
मंगलबार बिहान सकिएको खेलमा समूह डीमा रहेको कोलम्बियाले पाराग्वेलाई २–१ गोल अन्तरले पराजित गरेको हो।
कोलम्बियाको जितमा डेनियल मुनोज र जेफरसन लेर्माले एक–एक गोल गर्दा पाराग्वेका लागि जुलियो इनसियोले एक गोल फर्काए।
३२ औं मिनेटमा जेम्स रोड्रिगेजको पासमा डेनियल मुनोजले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए।
यस्तै, खेलको ४२ औं मिनेटमा रोड्रिगेजकै पासमा जेफरसनले गोल गर्दै अग्रता दाब्बर बनाए। ६९ औं मिनेटमा पाराग्वेका लागि जुलियो इनसियोले रामोन सोसाको पासमा गोल गर्दै अन्तर कम गरे पनि हार टार्न पर्याप्त भएन।
जितसँगै कोलम्बियाले समूह डीमा ३ अंक लिएको छ।
प्रकाशित मिति: मंगलबार, असार ११, २०८१ ०७:४६