News Griha :: न्यूजगृह
वेस्ट इन्डिजलाई हराउँदै दक्षिण अफ्रिका सेमिफाइनलमा

काठमाडौं — दक्षिण अफ्रिकाले आईसीसी टी२० विश्वकप २०२४ को सुपर–८ खेलमा वेस्टइन्डिज लाई डकवर्थ लेविस पद्धतिको आधारमा ३ विकेटले हराउँदै सेमिफाइनलमा स्थान बनाएको छ।

दक्षिण अफ्रिका सुपर–८ को ग्रुप–२ बाट ६ अंकका साथ शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा पुगेको हो। जारी विश्वकपमा दक्षिण अफ्रिकाको लगातार सातौं जित हो। १२३ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले १६.१ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्यो। १३६ रनको लक्ष्य पछ्याउनेक्रममा दक्षिण अफ्रिका २ ओभरमा १५–२ को अवस्थामा वर्षाको कारण खेल रोकिएको थियो। पुनः खेल सुरु हुन ढिलो हुँदा तीन ओभर घटेको थियो ।

दक्षिण अफ्रिका जितमा युवा ब्याटर ट्रिस्टन स्टब्सले २७ बलमा ४ चौकासहित सर्वाधिक २९ रन बनाए। ओपनर क्विन्टन डि कक १२, रिजा हेन्ड्रिक्स शून्य, एडेन माक्ररम १८ र डेविड मिलर ४ रनमा बोल्ड आउट भए । मार्को यानसन १४ बलमा १ चौका र १ छक्कासहित २१ र कागिसो रबाडा ५ रनमा नट आउट रहे।

वेस्टइन्डिजका रोश्टन चेशले ३ ओभरमा १२ रन खर्चेर ३ विकेट लिए। आन्द्रे रसेलले ४ ओभरमा १९ रन खर्चेर २ विकेट लिए। अल्जारी जोशेफले ४ ओभरमा २५ रन खर्चेर २ विकेट लिए।

त्यसअघि सर भिभियन रिचर्ड्स रंगशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको वेस्टइन्डिजले २० ओभरमा ८ विकेट गुमाउँदै १३५ रन बनाएको थियो। रोश्टन चेशले ४२ बलमा ३ चौका र २ छक्कासहित सर्वाधिक ५२ रन जोडे । ओपनर साई होप शून्य र निकोलस पुरन १ रनमा गुमाउदा वेस्टइन्डिज ५–२ को अवस्थामा पुगेको थियो।

तेस्रो विकेटलाई काइल मेयर्स र रोश्टन चेशले ६५ बलमा ८१ रनको साझेदारी गर्दै खेलमा फर्काएका थिए। मेयर्स ३४ बलमा ३ चौका र २ छक्कासहित ३५ रनमा क्याच आउट भए। मेयर्स क्याच आउट हुँदा वेस्टइन्डिज १२ ओभरमा ८६–३ को अवस्थामा थियो। आन्द्रे रसेल ९ बलमा २ छक्कासहित १५, अल्जारी जोशेफले ११, रोभम्यान पावेल १ र शेर्फान रदरफोर्ड शून्यमा क्याच आउट भएका थिए।

स्पिनर तबरेज शाम्सीले ४ ओभरमा २७ रन खर्चेर ३ विकेट लिए। केशव महाराज, एडेन माक्ररम र मार्को यानसनले १–१ विकेट लिए। ग्रुप–२ बाट दक्षिण अफ्रिका ३ खेलमा ६ अंकका साथ शीर्ष स्थानमा रह्यो। इंग्ल्यान्ड ४ खेलमा ४ अंकका साथ दोस्रो स्थानमा रह्यो। सेमिफाइनलमा दक्षिण अफ्रिकाले ग्रुप १ को उपविजेता र इंग्ल्यान्डले विजेतासँग खेल्नेछ। ग्रुप १ बाट सेमिफाइनलमा पुग्ने टोलीको टुङ्गो लाग्न बाँकी छ।

दक्षिण अफ्रिका टी२० विश्वकप इतिहासमा तेस्रो पटक सेमिफाइनलमा पुगेको हो। यसअघि टी२० विश्वकपमा दक्षिण अफ्रिका सन् २००९ र २०१४ मा सेमिफाइनल खेलेको थियो।

प्रकाशित मिति: सोमबार, असार १०, २०८१  ११:००
Weather Update