
काठमाडौं— जर्मनी र स्विट्जरल्याण्ड जारी युरोकपको नकआउट चरणमा पुगेका छन्। गएराति सम्पन्न समूह ए अन्तर्गतको समूह चरणको अन्तिम खेलमा १–१ गोलको बराबरी खेल्दै जर्मनी र स्विट्जरल्याण्ड प्रतियोगिताको नक आउट चरणमा पुगेका हुन्।
यस खेलमा निकलस फुलक्रुंगले ९० मिनेटपछिको इन्जुरी समयमा गोल गर्दै जर्मनीलाई हारबाट बचाएका थिए। यसअघि स्विट्जरल्याण्डका लागि खेलको २८औं मिनेटमा डान एन्डोएले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए।
यो बराबरीपछि जर्मनीको समूह ए मा ३ खेलमा ७ अंकसहित शीर्ष स्थानमा रहेको नक आउट चरणमा पुगेको छ भने स्विट्जरल्याण्ड ३ खेलमा ५ अंकसहित समूहमा दोस्रो हुँदै नकआउट चरणमा पुगेको छ।
त्यस्तै समूह ए बाट हंगेरीले स्कटल्याण्डलाई १–० गोल अन्तरले पराजित गर्दै महत्वपूर्ण ३ अंक बटुलेको छ र समूहमा तेस्रो भएको छ। हंगेरीको पनि नकआउट चरणमा छानिने सम्भावना रहेको छ।
सबै ६ समूहका तेस्रो स्थानमा रहने शिर्ष चार देश नक आउट चरणमा छानिने हुनाले यसको टुंगो भने समूह चरणका सबै खेल पछि लाग्ने छ। त्यस्तै ३ खेलमा एक अंक हासिल गरेको स्कटल्याण्ड भने युरोकपबाट बाहिरिएको छ।