
काठमाडौं— अमेरिकाविरुद्ध १० विकेटको सहज जित निकाल्दै इङ्ग्ल्याण्ड आईसीसी टी२० विश्वकपको सुपर–८ बाट सेमिफाइनलमा स्थान सुनिश्चित गर्ने पहिलो टिम बनेको छ।
आइतबार ब्रिजटाउनमा सम्पन्न खेलमा अमेरिकाले प्रस्तुत गरेको ११६ रनको लक्ष्य इङ्ग्ल्याण्डले ९.४ ओभरमै विकेट नगुमाई भेटाएर अन्तिम–४ मा स्थान सुनिश्चित गरेको हो।
इङ्ग्ल्याण्डको जितमा विस्फोटक ब्याटिङ गरेका जस बटलरले ८३ रन बनाए। आक्रामक रूपमा प्रस्तुत भएका बटलरले ३८ बलमा ६ चौका र सात छक्का प्रहार गरे। अर्का ओपनर फिल साल्ट २५ रनमा अविजित रहे।
त्यसअघि टस हारेर ब्याटिङमा आएको अमेरिकाले १८.५ ओभरमा सबै विकेट गुमाएर ११५ रनको योगफल खडा गरेको थियो। अमेरिकालाई सस्तैमा समेट्न इङ्ग्ल्याण्डका क्रिस जोर्डनले ह्याट्रिक विकेट लिएका थिए।
अमेरिकाका नितिश कुमारले ३० रन बनाए। कोरी एन्डरसनले २९, हर्मित सिंहले २१ र कप्तान आरोन जेम्सले १० रन जोडे। इङ्ग्ल्याण्डका क्रिस जोर्डनले चार विकेट लिए। २.५ ओभर बलिङ गरेका उनले १० रनमात्र खर्चिए।
जोर्डनले १९औँ ओभरको तेस्रो, चौथो र पाँचौ बलमा लगातार विकेट लिँदै ह्याट्रिक पूरा गरेका हुन्। जारी विश्वकपमा यो तेस्रो ह्याट्रिक हो। यसअघि अस्ट्रेलियाका प्याट कुमिन्सले लगातार दुई खेलमा ह्याट्रिक लिएका थिए।
आदिल राशिद र साम करणले समान दुई विकेट लिए। रिस टोप्ली र लियम लिभिङस्टोनले समान एक विकेट हात पारे।
जितसँगै इङ्ग्ल्याण्ड प्रतियोगिताको सुपर–८ मा अन्तर्गत समूह–२ को तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। तीन खेल खेलेको इङ्ग्ल्याण्डको खातामा चार अंक छ। समान खेल खेल्दा पनि अंकविहीन अमेरिका भने सुपर–८ बाट जितविहीन बाहिरिएको छ।