News Griha :: न्यूजगृह
फ्लाई दुबईको जहाज दुर्घटनाबाट जोगियो

काठमाडौं— फ्लाई दुबईको जहाज दुर्घटना हुनबाट जोगिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईका लागि उडेको उक्त जहाजको इञ्जिनमा खराबी आएको थियो । विमानस्थलबाट उडेलगत्तै ठूलो आवाजसहित जहाजमा आगोको झिल्को देखिएको थियो ।

विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार उक्त जहाज अहिले गन्तव्यतर्फ उडिरहेको छ । काठमाडौं विमानस्थलबाट उडेको केहीबेरमै जहाजको इञ्जिनमा समस्या आएपछि धादिङको धार्केमाथिको आकाश (२१ हजार फिटमाथि) मा पाँचदेखि सात मिनेट होल्ड गराइएको थियो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरणको तयारी गरिएको थियो । विमानस्थलको टावरका एटीसीले विमानचालक (पाइलट) सँग कम्युनिकेसन गरेपछि जहाज सामान्यतवरले गन्तव्यतर्फ उडेको महाप्रबन्धक तिवारीले बताए ।

जहाज नेपालगञ्जबाट भारततर्फको रुट भएर २८ हजार फिटमा उडान भरेर गन्तव्यतिर गइरहेको विमानस्थलले जनाएको छ ।

जहाजको दुई इञ्जिन रहेकाले सुरुमा एक इञ्जिनले काम गरेको र अहिले दुवै इञ्जिन राम्ररी सञ्चालन रहेकाले जहाज गन्तव्यमै सामान्यरूपमा अवतरण हुने विमानस्थलले उल्लेख गरेको छ ।

उक्त जहाजमा १६७ यात्रु सवार रहेको विमानस्थलले जनाएको छ । करिब एक घण्टा उडान स्थगित गरिएको थियो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार उक्त जहाज अहिले सामान्य अवस्थामा गन्तव्यतर्फ उडिरहेको छ । विमानस्थलको उडान पनि अहिले सामान्य अवस्थामा सञ्चालन भइरहेको छ ।

प्रकाशित मिति: सोमबार, वैशाख ११, २०८०  २२:५१
Weather Update