News Griha :: न्यूजगृह
‘बेनीको बजार, जता माया उतै छ नजर’ नयाँ स्वरुपमा आउँदै 

म्याग्दी— बुहचर्चित नेपाली लोकगीत ‘बेनीको बजार, जता माया उतै छ नजर’ को म्युजिक भिडिओलाई नयाँ प्रस्तुतिका साथ पुनःनिर्माण गर्न सुरु गरिएको छ। 

जिल्ला सदरमुकाम बेनीलाई राष्ट्रिय, अन्तर्राष्ट्रिय रूपमा चिनाउन सफल उक्त गीतलाई पुनः नयाँ स्वरुपमा रेडर्क गरेर म्युजिक भिडिओ तयार गर्न लागिएको हो।

युवाको नेतृत्व र व्यक्तित्व विकाससँगै कला, संस्कृतिको संरक्षण र संवर्द्धनमा सक्रिय म्याग्दी जेसिजले गीतका सर्जकको परिवारबाट अनुमति लिएर गीतलाई नयाँ प्रस्तुतिका साथ बजारमा ल्याउन लागेको जनाएको छ। गीतको पुनः ताजकी गर्न र स्रष्टालाई सम्मान गर्न पुरानो वास्तविक गीतसँगै नयाँ शब्द सङ्कलन समेत गरेर बेनीको बजार गीतलाई पुनः निर्माण गर्न लागिएको जिल्लास्थित जेसिजका शाखा अध्यक्ष दिनेश बानियाँले जानकारी दिए। 

उनका अनुसार पुनःनिर्माण गर्न लागिएको गीतमा गायक रामचन्द्र काफ्ले र गायिका समीक्षा अधिकारीले स्वर भरेका छन्। गीत रेकर्डको काम सकेर अहिले म्युजिक भिडिओ छायाङ्कन भइरहेको निर्देशक डिके पुनले बताए। उनका अनुसार सदरमुकाम बेनीबजार, गलेश्वरधाम र लभ्लिहिल क्षेत्रमा छायाङ्कन गरिएको म्युजिक भिडियोमा रघुगङ्गा गाउँपालिका–७ चिमखोलाबाट सुरुआत भएर पछिल्लो समय लोकप्रिय बनेको थालीनाचलाई समेत समावेश गरिएको छ। 

मोडल गम्भीर विष्ट र अञ्जली अधिकारीले अभिनय गरेको म्युजिक भिडिओमा म्याग्दीका करिब ४५ भन्दाबढी कलाकारले नृत्य र अभिनय गरेका छन्। टिकाबहादुर श्रेष्ठले रचना गर्नुभएको उक्त गीतमा सर्जक श्रेष्ठ र उहाँकी श्रीमती मन छन्त्यालले पहिलोपटक बेनीको बजार गीत गाएका थिए। विसं २०३१ मा रेडियो नेपालमा मन छन्त्यालको स्वरमा रेकर्ड भएपछि विश्वभरका नेपालीमाझ निकै चर्चामा आएको यो गीतलाई पछि राजु परियार र बिमाकुमारी दुराको स्वरमासमेत रेकर्ड गरेर बजारमा ल्याइएको थियो। 

विसं २०१९ फागुन ७ गते प्रजातन्त्र दिवसका दिन काठमाडौंको राष्ट्रिय नाचघरमा पहिलोपटक रचनाकार श्रेष्ठ दम्पतीले ‘बेनीको बजार, जता माया उतै छ नजर’ बोलको गीत गाएका थिए। उक्त कार्यक्रममा तत्कालीन १४ अञ्चलबाट आएका कलाकारलाई उछिनेर श्रेष्ठ दम्पतीको गीत प्रथम भएको थियो । गीतका सर्जक श्रेष्ठको निधन भएकाले उनकी धर्मपत्नीको सहमतिमा गीत र म्युजिक भिडिओलाई पुनःनिर्माण गर्न लागिएको जेसिजका शाखा अध्यक्ष बानियाँले जानकारी दिए।

म्याग्दी जेसिजले जिल्लाका लोकप्रिय गायक खड्क गर्वुजाको पानीखायो बाघैले बोलको सालैजो गीतको समेत नयाँ म्युजिक भिडिओ तयार गर्न लागेको छ। दुवै गीत र म्युजिक भिडिओ पुनःनिर्माणमा करिब आठ लाख खर्च हुने जनाइएको छ। सालैजो गीतको बेनी नगरपालिका–१ अर्जममा छायाङ्कन गरिएको छ।

शेखर पुन र मिलन थापा मगरको अभिनयमा उक्त म्युजिक भिडिओको छायाङ्कन सन्तोष पिठाकोटे मगरले गरेका छन्। म्याग्दीका कलाकारले सृजना गरेका गीतसङ्गीतलाई नयाँ पुस्तासँग जोड्ने गरी पुनः रेकर्ड गरेर बजारमा ल्याउँदा जिल्लालाई थप उचाइमा चिनाउन र सर्जकको सम्मानमा सघाउ पुग्ने जिल्लास्थित उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुबिनकुमार श्रेष्ठले बताए।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: आइतबार, असार ९, २०८१  १६:४१
Weather Update