
काठमाडौं— जारी कोपा अमेरिकामा भेनेजुएला र मेक्सिकोले विजयी सुरुवात गरेका छन्।
आइतबार बिहान सम्पन्न खेलमा भेनेजुएलाले इक्वेडरमाथि कमब्याक जित हासिल गरेको हो। भेनेजुएलाले इक्वेडरलाई २-१ गोल अन्तरले पराजित गरेको थियो। १-० ले पछि परेको भेनेजुएलाका लागि झोंडर काडिज र एडुआर्ड बेल्लोले एक एक गोल गरेका थिए । त्यसअघि इक्वेडरका लागि जेरेमी सार्मिमेन्टोले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए।
यस खेलमा खेलको २२औं मिनेटमा नै इक्वेडरका इन्नर भलेन्सियाले रातो कार्ड पाएपछि इक्वेडर १० खेलाडीमा खेलेको थियो। यो जितपछि समुह बी मा भेनेजुएलाले महत्वपूर्ण ३ अंक हासिल गरेको छ।
त्यस्तै आजै सम्पन्न अर्को खेलमा मेक्सिकोले जमैकालाई १-० गोल अन्तरले पराजित गरेको छ। मेक्सिकोका लागि खेलको ६९औं मिनेटमा गेरार्ड़ो आर्टिगाले खेलको एक मात्र गोल गरेका थिए । यो जितपछि समुह बी मा मेक्सिकोले ३ अंक हासिल गरेको छ।