News Griha :: न्यूजगृह
अस्ट्रेलियाले पायो १४९ रनको लक्ष्य,  टी२० विश्वकपमा प्याट कमिन्सको लगातार ह्याट्रिक विकेट

 काठमाडौं— प्याट कमिन्सको ह्याट्रिक प्रेरित खेलमा अफगानिस्तानले अस्ट्रेलिया लाई १४९ रनको विजयी लक्ष्य दिएको छ। टी२० विश्वकपको सेमिफाइनलमा स्थान बनाउन अस्ट्रेलियाले १ सय ४९ रनको लक्ष्य पाएको हो। वेस्ट इन्डिजको सेन्ट भिन्सेन्टमा रहेको आर्नोस भेल क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ४८ रन बनायो।

अफगानिस्तानका लागि ओपनरद्वय रहमनुउल्लाह गुर्वाज र इब्राहिम जार्दानले अर्धशतकीय इनिङ खेले। गुर्वाजले ४९ बलमा ४ चौका र ४ छक्काको सहयोगमा ६० तथा जार्दानले ४८ बलमा ५१ रन बनाए। पहिलो विकेटका लागि गुर्वाज र जार्दानले १ सय १८ रनको साझेदारी गरेका थिए। त्यसपछि आएका ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन्। अफगानिस्तानले ७ रन बनाउँदा चार विकेट गुमायो।  करिम जन्नतले ९ बलमा १३ रन बनाए।

अस्ट्रेलियाका लागि प्याट कमिन्सले लगातार दोस्रो खेलमा ह्याट्रिकसहित तीन तथा एडम जाम्पाले दुई विकेट लिए। मार्कस स्टोईनेसले एक विकेट लिए। विश्वकपमा लगातार ह्याट्रिक विकेट लिने कमिन्स पहिलो खेलाडी बने। यस अघि बंगलादेशसँग भएको खेलमा पनि उनले ह्याट्रिक विकेट लिएका थिए। 

सुपर एटको समूह एकमा रहेको अस्ट्रेलिया यस खेलमा जित निकाल्दै सेमिफाइनलमा स्थान बनाउन चाहन्छ। 

प्रकाशित मिति: आइतबार, असार ९, २०८१  ०८:४८
Weather Update