
काठमाडौं— विभागीय टोली एपीएफ क्लबले राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिगमा सोमबार खुमलटार युथ क्लबलाई हराएको छ ।
ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा सम्पन्न १२ औं चरणको पहिलो खेलमा एपीएफले खुमलटारलाई २–० गोल अन्तरले पराजित गर्दै जारी लिगमा पाँचौं जित निकालेको हो ।
जितसँगै एपीएफ शहीद स्मारक एडिभिजन लिग तालिकाको पाँचौं स्थानमा उक्लिएको छ । एपीएफले १२ खेलबाट १७ अंक बनाएको छ भने जारी लिगमा सातौं पराजय भोगेको खुमलटार १३ अंकसहित ११ औं स्थानमा छ ।
खुमलटारविरुद्ध सुरुआतबाट नै आक्रमक देखिएको एपीएफले खेलको २५औं मिनेटमा गोलको खाता खोलेको थियो ।
बुद्धिमान राईले उपलब्ध गराएको पासलाई अब्डोउ रमानीले गोल गर्दै एपीएफलाई सुरुआती अग्रता दिलाएका थिए । त्यसपछि पहिलो हाफमा खुमलटार खेलमा फर्किनलाई निकै प्रयास गरेपनि सफल हुन सकेन ।
दोस्रो हाफमा अलि सुधारिएको खेल देखाउने प्रयास गरे पनि खुमलटार खेलमा फर्किन असफल भयो । पहिलो हाफमा लिएको अग्रता पछि उच्च मनोबलका साथ खेलेको एपीएफले दोस्रो हाफमा दोस्रो गोल थप्न सफल भयो ।
७०औं मिनेटमा अर्मान्ड बिडोमले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए । खुमलटारका गोलकिपर राजकुमार लिम्बूले पेनाल्टी बक्स भन्दा अगाडि आएर नियन्त्रण गर्ने प्रयास गरेको बललाई खोस्दै अर्माण्ड बिडोमले टोलीका लागि दोस्रो गोल गर्न सफल भएका हुन् । बाँकी समयमा खुमलटार खेलमा फर्किन प्रयास गरे पनि सफल हुन सकेन ।