
काठमाडौं— भारतले अफगानिस्तानलाई पराजित गरेको छ । जारी आईसीसी टी-२० विश्वकप अन्तर्गत सुपर आठको खेलमा भारतले अफगानिस्तानलाई ४७ रनले पराजित गरेको हो ।
गएराति सम्पन्न खेलमा भारतले दिएको १८२ रनको लक्ष्य पछाएको अफगानिस्तान २० ओभरमा अल आउट हुँदै १३४ रन मात बनाए पछि भारत ४७ रनले विजयी भएको हो ।
अफगानिस्तानका लागि अजमतुल्लाह ओमरजाइले सर्वाधिक २६ रन बनाए भने नाजिबुल्लाह जर्द्रानले १९ रन बनाएका थिए । त्यस्तै भारतका बलर अर्शदीप सिंह र जसप्रित बुमराहले ३-३ विकेट लिएका थिए ।
यस अघि टस जितेर पहिला ब्याटिङ गरेको भारतले २० ओभरमा ८ विकेट गुमाएर १८१ रन बनाएको थियो । भारतका लागि सूर्यकुमार यादवले सर्वाधिक ५३ रन बनाए भने हार्दिक पाण्डेयले ३२, विराट कोहलीले २४ तथा ऋषभ पन्तले २० रन बनाएका थिए । त्यस्तै अफगानिस्तानका बलर राशिद खान र फजलहक फारुकीले ३-३ विकेट लिएका थिए ।
यो जितपछि सुपर आठको समूह एकमा रहेको भारतले २ अंक हासिल गरेको छ । अब भारतले अर्को खेल शनिबार राति बङ्गलादेशविरुद्ध खेल्दै छ । त्यस्तै अफगानिस्तानले अर्को खेल आइतबार बिहान अस्ट्रेलियासँग खेल्दै छ ।