
काठमाडौं— युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले मन्त्रालयको नेतृत्व गरेको सय दिन पुगेको अवसरमा प्रगति विवरण सार्वजनिक गर्दै मुलुकको खेल क्षेत्र चलायमान बनाएको दाबी गरेका छन् ।
उनले आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा आफ्नो सय दिनको कामलाई समीक्षात्मक रुपमा प्रस्तुत गरेका हुन् । खेलाडीहरूलाई खेलमैदानसँग जोडिरहन र खेलकुद प्रतियोगिताका कार्यक्रमलाई पारदर्शी तथा योजनाबद्ध बनाउन राष्ट्रिय खेलकुद परिषद् तथा राष्ट्रिय खेल संघद्वारा वर्षभरिमा सञ्चालन गरिने खेलकुद प्रतियोगिताहरूको आर्थिक वर्ष २०८१/८२ को वार्षिक क्यालेन्डर सार्वजनिक गरिएको उनले बताएका छन् ।
कतारका अमिर नेपाल भ्रमणको अवसरमा नेपाल र कतार सरकारबीच भएको द्विपक्षीय समझदारीपत्रमा युवा तथा खेलकुदका क्षेत्रमा सहकार्य गर्ने समझदारी भएको उनले प्रगति विवरणमा उल्लेख गरेका छन् ।
नेपाल स्काउटको जग्गा भाडामा लिने दिने बारे भएको सम्झौता र त्यस सम्बन्धमा सम्मानित उच्च अदालत पाटनको फैसला कार्यान्वयनको सम्बन्धमा छानविन समिति गठन गरी प्राप्त प्रतिवेदनको आधारमा नेपाल स्काउटको जग्गाको संरक्षण तथा अनधिकृत उपयोग गरेको संरचना नियमसङ्गत उपयोग गर्न कानुनी व्यवस्थाको कार्यान्वयन गर्न गराउन गृह मन्त्रालयको सहयोगमा सिलबन्दी गरिएको उनले जनाएका छन् ।
विश्वविद्यालयमा खेल विज्ञान अध्ययनका लागि काठमाडौं विश्वविद्यालयसँग समझदारी भएको छ । साथै विद्यालय स्तरको पाठ्यक्रममा खेलकुद विषय समावेश गर्न शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा अनुरोध गरी पठाइएको उनले उल्लेख गरेका छन् ।
सहभागितमूलक नीति निर्माणको अवधारणा अनुरूप राष्ट्रिय खेलकुद नीति, र राष्ट्रिय युवा नीतिको मस्यौदा उपर प्रदेशस्तरमा राय सुझाव संकलन गरिएको र दुवै नीतिलाई अन्तिम रूप दिने क्रममा रहेको जानकारी उनले दिए ।
राष्ट्रिय खेलकुद विकास नियमावली २०७९ बमोजिम गठित राष्ट्रिय एन्टीडोपिङ एजेन्सीलाई पूर्णता दिई क्रियाशील बनाइएको, अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न सम्भावना भएका खेलहरूलाई मध्यनजर गरी पूर्वाधार विकासका लागि मूलपानी क्रिकेट रङ्गशालाको डीपीआर तयार गरिएको र कीर्तिपुर क्रिकेट रङ्गशालामा स्कोर बोर्ड राख्ने सम्झौता भएको तथा फ्लड लाइट खरिद प्रक्रिया अगाडि बढाइएको र दशरथ रङ्गशालाको मर्मत कार्य सम्पन्न भएको उनले उल्लेख गरेका छन् ।
यस वर्ष कर्णाली प्रदेशमा १०औं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्न कर्णाली प्रदेश सरकारको अग्रसरतामा सुर्खेतमा रङ्गशालासहितको खेलकुद पूर्वाधार निर्माण कार्यलाई तीव्रता दिइएको, टी–ट्वेन्टी विश्वकप क्रिकेटमा नेपालको सहभागिता र मिसन २०२६ अन्तर्गत १० खेलका खेलाडीहरूलाई विशेष प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको उनले जनाएका छन् ।
देशभरका रङ्गशालाहरूको व्यवस्थापनलाई मध्यनजर गरी रङ्गशाला सञ्चालन सम्बन्धी कार्यविधिको मस्यौदा तयार गरिएको छ ।