
काठमाडौं— संयुक्त राज्य अमेरिका र वेस्ट इन्डिजमा जारी नवौं संस्करणको टी–२० विश्वकप सहभागी नेपाली राष्ट्रिय क्रिकेट टोली सोमबार बिहान आईसीसीको पूर्णकालिन राष्ट्र बंगलादेशको सामना गर्दैछ।
दक्षिण अफ्रिकासँग एक रनको पीडादायी हार व्यहोरेर एक खेल अगावै विश्वकपको समूह चरणबाटै बाहिरिइसकेको नेपाल टेष्ट राष्ट्रलाई हराएर इतिहास रच्ने लक्ष्यसहित मैदान उत्रने छ भने बंगलादेश दोस्रो चरणमा प्रवेश गर्न जित्नैपर्ने दबाबकाबीच मैदान प्रवेश गर्नेछ।
नेपाल र बंगलादेशबीचको खेल बिहान ५:१५ बजे सुरु हुनेछ। उक्त खेल किङ्सटाउनस्थित आर्नोस भेल स्टेडियममा खेलिने छ। १८ हजार दर्शक क्षमताको यो स्टेडियम क्यारेबियन क्षेत्रको निकै पुरानो स्टेडियम हो।
तर, नेपाली खेलाडीहरूले दक्षिण अफ्रिकासँग भोगेको एक रनको पराजयको पीडा आलै छ। यही हारको पीडाले होला उनीहरु आइतबारको नियमित अभ्यासमा सहभागी नभएको जानकारी प्राप्त भएको छ।
सोमबार बिहान बंगलादेशविरुद्ध जित निकाल्दै इतिहास रच्ने एक अर्को अवसरको सदुपयोग गर्न समेत उनीहरुलाई त्यो पीडामा रुमल्लिइरहने समय भने छैन ।
शनिबार बिहान भएको खेलमा नेपाल दक्षिण अफ्रिकासँग १ रनले पराजित भएको थियो। त्यसअघि आफ्नो पहिलो खेलमा नेदरल्याण्ड्ससँग ६ विकेटले पराजित भएको थियो। श्रीलंकासँगको खेल वर्षाका कारण रद्द भएको थियो।
घर फर्किनुअघि टी–२० विश्वकपको सुखद अन्त्य गर्न चाहेको र यो प्रतिष्ठाको खेल हुने कप्तान रोहित पौडेल र मुख्य प्रशिक्षक मोन्टी देसाईले खेल सुरु हुनुअघि गरिएको पत्रकार सम्मेलनमा धारणा राखेका थिए।
आईसीसी टी–२० विश्वकपमा नेपालको यो दोस्रो सहभागिता हो। नेपालले यसअघि सन् २०१४ मा पहिलो पटक टी–२० विश्वकप खेलेको थियो। बंगलादेशमा सम्पन्न त्यो विश्वकपमा नेपाल प्रारम्भिक चरणबाटै बाहिरिएको थियो।
बंगलादेशसँग १० वर्षअघिको हारको बद्ला लिने अवसरका नेपाली क्रिकेट समर्थकहरुले लिइरहेका छन्।
नेपालको सम्भावित प्लेइङ ११
रोहितकुमार पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख (विकेट किपर), अनिलकुमार साह, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, गुलसन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने र अविनाश बोहरा।