
काठमाडौं— नेपाल र साउदी अरेबियाबीच एसीसी प्रिमियर कप क्रिकेटमा सोमबार हुने खेल वर्षाका कारण रद्द भएको छ ।
मूलपानी क्रिकेट मैदानमा नेपालले खेल्न लागेको पहिलो अन्तर्राष्ट्रिय खेल निरन्तर वर्षाका कारण रद्द भएपछि नेपाल सेमिफाइनल पुगेको छ ।
दुवै टोलीका खेलाडीले हात मिलाउँदै अङ्क बाँडेका थिए । खेल हुने कुनै सम्भावना नै नरहेपछि म्याच रेफ्री सारिका प्रसादले त्यसको झन्डै २ घन्टा अघि नै खेल रद्द भएको घोषणा गरेका थिए ।
दुई ठूला प्रतिद्वन्द्वी मलेसिया र ओमानमाथि विजय हात पारेको नेपाल सोमबारको नतिजापछि समूह ‘ए’ मा ५ अङ्क पुगेको छ । साउदी र ओमानबीचको लिगको अन्तिम खेल क्वार्टरफाइनल सरह हुने भएको छ र जो जितेमा उही सेमिफाइनल पुग्ने छ ।
साउदीको ३ अङ्क र ओमानको ४ अङ्क छ । साउदीले पछिल्लो खेलमा कतारलाई ७ विकेटले स्तब्ध पारेको थियो । नेपालसँग पराजित ओमानले कतार र मलेसियालाई पराजित गरेको थियो ।
नेपालले अन्तिम खेल कतारसँग खेल्ने छ र यो खेल जितेमा समूह विजेता भएर सेमिफाइनल पुग्ने छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हङकङ र बहराइन बीचको खेल पनि वर्षाका कारण हुन सकेको छैन ।