कप्तान रोहित भन्छन्– जित नजिक पुगेर हार्दा दुख लाग्यो तर दक्षिण अफ्रिकाविरुद्ध राम्रो ‘फाइट’ गर्यौँ

काठमाडौं— आईसीसी टी२० विश्वकप २०२४ अन्तर्गत नेपाल आफ्नो तेस्रो खेलमा जित नजिक पुगेर पनि गुमाएको छ।
खेल गुमाएपछि कप्तान रोहित पौडेलले नेपाली टोलीप्रति गर्व गर्ने बताएका छन्।
‘नेपाली टोलीप्रति गर्व गर्छु,’ रोहितले खेलपछि भने, ‘विशेषगरी हामीले दक्षिण अफ्रिकाविरुद्ध राम्रो बलिङ र ब्याटिङ गर्यौँ।’
खेलमा टस जितेर पहिले बलिङ रोजेको नेपालले दक्षिण अफ्रिकालाई ११५ रनमै रोकेको थियो। उनले जित नजिक पुगेर हार्दा दुख लागेको बताए। तर उनले दक्षिण अफ्रिकाविरुद्ध राम्रो ‘फाइट’ गरेको बताए।
‘हामी जितको धेरै नजिक पनि पुग्यौं। हामीले धेरै राम्रो फाइट गर्न सक्यौँ,’ उनको भनाइ छ।
नेपाली टोलीको हारको मुख्य कारण अनुभव देखिएको छ। सानो लक्ष्य पाए पनि अनुभवी टोलीविरूद्ध नेपाली ब्याटर संयम हुन सकेनन्।
प्रकाशित मिति: शनिबार, असार १, २०८१ ११:५२