
काठमाडौं— युरो कप २०२४ आज रातिदेखि सुरु हुँदैछ। उद्घाटन खेल आयोजक राष्ट्र जर्मनी र स्कटल्याण्डबीच हुँदैछ। युरोपका २४ टिम यो खेलमा सहभागी छन्। रुस र युक्रेन युद्धका कारण रुस यो खेलामा सहभागी छैन।
युरो कपमा खेल्ने केही चर्चित खेलाडीका बारेमा यहाँ संक्षेपमा चर्चा गरिएको छ, जसले विश्व कप फुटबलमा समेत आफूलाई दर्शकका आँखा स्थान बनाउन सफल भएका थिए।
केलियन एमबाप्पे (फ्रान्स)
विश्व फुटबलमा लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डोपछि सबैभन्दा ठूलो नाम हो केलियन एमबाप्पे। लगातार दुई पटक विश्वकपको फाइनल खेलेका एमबाप्पे फ्रान्सका लागि आशलाग्दा खेलाडी हुन्। पछिल्लो समय लयमा देखिएका एमबाप्पे फ्रान्सका भरोसालाग्दा कप्तान हुन्। उमेर २५ वर्ष टेकेका एमबाप्पे ड्रिब्लिङ, तीव्र गति र अचूक फिनिसिङका लागि विश्व फुटबल जगतमा परिचित छन्। फ्रान्स २४ वर्षपछि युरो जित्ने अभियानमा छ। यो सम्भव भए एमबाप्पेको नाम फुटबलका महान् खेलाडीको सूचीमा चढ्ने पक्का छ। एमबाप्पे यस प्रतियोगिताभर हेर्न लायक भूमिकामा रहनेमा दुई मत छैन।
ब्रूनो फर्नान्डिस, पोर्चुगल
विश्व चर्चित खेल फुटबलका लागि गोलकर्ताको नामले भरिएको पोर्चुगलमा विश्व फुटबलका हस्ती क्रिस्टियानो रोनाल्डोको युग समाप्त हुने समय आइसकेको छ। यस टोलीमा कोही रोनाल्डोको विकल्प हुन सक्छ भने ती हुन् ब्रूनो फर्नान्डिस। पोर्चुगलमा गोल गर्ने क्षमता, रचनात्मकता र उत्कृष्ट डिफेन्डरका रुपमा चिनिने खेलाडी मानिन्छुन् फर्नान्डिस।
सन् २०२३ देखि एक वर्षको अवधिमा फर्नान्डिसले १४ अन्तर्राष्ट्रिय खेलहरूमा नौ गोल र नौ असिस्ट गरेका छन्। म्यानचेस्टर युनाइटेडका कप्तान समेत रहेका उनले एफए कप जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए। उनको यही अनुभवले यस युरो कप प्रतियोगितामा सिंगो टिमको आत्मबल बढाउन सहज हुनेछ। रोनाल्डोपछि पोर्चुगलको कोही खेलाडीमा फुटबल समर्थकको ध्यान हुनेछ भने ती हुनेछन् ब्रूनो फर्नान्डिस।
जुड वेलिङ्घम, इंग्ल्यान्ड
फ्रान्सपछि युरो कप २०२४ को उपाधिका लागि अर्को बलियो दाबेदार हो, इंग्ल्यान्ड। इंग्ल्यान्डका प्रमुख खेलाडीका रुपमा रहनेछन्, २० वर्षीया जुड वेलिङ्घम। अहिलेसम्म उनले आफ्नो देशका लागि खासै केही गरेका छैनन्। खासमा उनी आफैं नयाँ खेलाडी हुन्। तर रियल म्याड्रिडका लागि उनको पछिल्लो सिजन चामत्कारिक थियो। रियलले स्पेनी ला लिगा मात्र होइन, युरोपेली च्याम्पियन्स लिग नै जित्यो। त्यसमा सबैभन्दा बढी निर्णायक भूमिका खेल्ने वेलिङ्घम नै हुन्। यी मिडफिल्डर चाहिएका बेला गोल निकाल्न खप्पिस छन्। रियलका लागि पहिलो सिजन उनले १८ गोल गरे। हारको स्थितिमा पनि जित निकाल्न सक्ने क्षमता रहेका उनी हेर्न आकर्षक खेल प्रदर्शन गर्नेछन्।
फ्लोरिन विर्ट्ज, जर्मनी
युरो कप २०२४ को आयोजक राष्ट्र हो, जर्मनी। कुनै समय विश्व फुटबलको महाशक्तिका रुपमा प्रदर्शन गर्दै आएको जर्मनीका लागि पछिल्ला केही वर्ष सुखद हुन सकिरहेका छैनन्। तर, आयोजक राष्ट्र भएकै कारणले जर्मनीलाई नकार्न भने सकिँदैन। पछिल्लो दई विश्वकपमा पहिलो चरणबाटै आउट भएको जर्मनीका लागि बलियो कमब्याक गर्ने अवसर पनि बन्न सक्छ, युरोकप २०२४।
यसै टोलीमा छन्, दुर्लभ प्रदर्शन गर्ने फुटबलर फ्लोरिन विर्ट्ज। उनी जस्तोसुकै समयमा पनि टोलीका लागि अवसर सिर्जना गर्ने खेलाडीका रुपमा चिनिँदै आएका छन्। यस प्रतियोगितामा उनको प्रदर्शन हेर्न लायक हुनेछ।
फिल फोडेन, इङ्ल्याण्ड
फिल फोडेनले भर्खरै म्यानचेस्टर सिटीका लागि उल्लेखनीय सिजन समाप्त गरेका छन्। उनले १९ गोल गर्दै प्रिमियर लिगको उपाधि जिताएका थिए। त्यति मात्र होइन, उनी प्लेयर अफ दि सिजन समेत चुनिएका थिए। उमेरले २४ वर्ष टेकेका बहुमुखी प्रतिभाका धनी फोडेल गजबको स्ट्राइकरको रुपमा चिनिँदै आएका छन्। युरो कपमा उनको प्रदर्शन हेर्न लायक हुनेछ।
पेड्रि, स्पेन
यू–१७ देखि स्पेनको राष्ट्रिय फुटबल टोलीबाट खेल्दै आएका युवा खेलाडी पेड्रि गोन्जालेज यस प्रतियोगितामा प्रभाव पार्न सक्ने खेलाडी हुन्। सेन्ट्रल मिडफिल्डरको रुपमा खेल्ने पेड्रि डिफेन्सिभ र स्ट्राइकर लाइन दुबैतिर सही बल खेलाउन सक्ने क्षमता राख्छन्। १९ वर्षीय पेड्रि हाल स्पेनिस क्लब बार्सिलोनाबाट व्यवसायिक फुटबल खेलिरहेका छन्। उनको प्रदर्शन पनि हेर्न लायक हुनेछ।
ख्विचा क्वारात्स्केलिया, जर्जिया
जर्जियाले आफ्नो पहिलो प्रतियोगितामा छनोट भएपछि २३ वर्षीय नेपोली विङ्गरले अन्तर्राष्ट्रिय मञ्चमा चम्कने मौका पाएका छन्। आफ्नो देशको लागि ३० खेलमा १५ गोल गरेका रोमाञ्चक नेपोली विङ्गर खविचा क्वारात्स्केलियाको ठूलो भूमिका रहेको छ। क्वारात्स्केलियाले पछिल्लो दुई सिरीज ए सिजनमा आफ्नो क्लबका लागि २३ गोल गरेका छन्, जुन युरोपको सबैभन्दा बढी खोजिने खेलाडीहरूमध्ये एक बनेको छ। पोर्चुगल, टर्की र चेक गणतन्त्रसँगको एकदमै कमजोर समूहमा क्वारात्स्केलियाको व्यक्तिगत प्रतिभाले जर्जियालाई नकआउट चरणमा पुऱ्याउँदा अचम्म मान्नुपर्दैन।
टोनी क्रुस, जर्मनी
छ पटक च्याम्पियन्स लिग विजेता टोनी क्रुसले जर्मनी जर्सीमा आफ्नो अन्तिम रोमाञ्चक प्रदर्शन गर्ने अवसर पाएका छन्। सन् २०२१ मा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरिसकेपछिका ३४ वर्षीय क्रुसको उत्कृष्ट प्लेमेकिङ र उत्कृष्ट साइट–पीस क्षमतालाई प्रशिक्षक जुलियन नागेल्सम्यानले फेरि पनि अनिवार्य रूपमा लिनुपर्ने बताएर खेल्न उनलाई मैदानमा उतार्ने छन्। उनको कमव्याक यस प्रतियोगितामा हेर्न लायक हुनेछ।
निकोलो बारेला, इटाली
निकोलो बारेला, इन्टर मिलान र इटालियन राष्ट्रिय टोलीका लागि गतिशील मिडफिल्डर, आफ्नो क्लब र देशको लागि महत्वपूर्ण खेलाडीका रूपमा उभिएका छन्। उनको अथक ऊर्जा, प्राविधिक सीप र रणनीतिक बुद्धिमताले उनलाई फुटबल जगतका अपरिहार्य पात्र बनाएको छ।