News Griha :: न्यूजगृह
ऋतिकसँगको प्रेमले सबा आजाद बेरोजगार बनेपछि... 

काठमाडौं— बलिउड अभिनेता ऋतिक रोशन र उनकी प्रेमिका सबा आजाद बलिउडमा रुचाइएका जोडी हुन्। उनीहरु पछिल्लो समयमा सम्बन्धमा छन्। उनीहरुले एकअर्काप्रति प्रेम दर्शाउन कुनै कसर बाँकी राखेका छैनन्।

सबा पेशाले भ्वाइस ओभरको काम गर्छिन्। उनले हालै मात्र इन्स्टाग्राममा एक रेकर्डिङ स्टुडियोमा रहेको आफ्नो तस्बिर सार्वजनिक गर्दै ऋतिकसँग दुई वर्ष डेटमा रहँदा बेरोजगार बनेको खुलासा गरेकी छन्।

‘आफ्नो काममा फर्किएँ। दुई वर्ष बढी समयपछि भीओ रेकर्ड गरिरहेकी छु,’ उनले लेखेकी छन्। इन्स्टामा सबाले दुई वर्ष आफू कसरी बेरोजगार भएँ भन्ने कुरा पनि उल्लेख गरेकी छन्।

‘म दुई वर्ष बढी समयदेखि भ्वाइस ओभर कलाकार हुँ। मैले आफूले छानेका तीन करियरमा यो करियर पनि एउटा हो। यो करियर आर्थिक रुपले मेरा लागि सफल रह्यो। म एक निर्देशकको नियमित भ्वाइस ओभर गर्थें। एकदिन मैले ‘मलाई किन काम नदिएको?’ भनेर सोध्दा उहाँको उत्तर सुनेर म छक्क परेँ। उहाँले ‘तिमी एक सफल अभिनेतासँग डेटमा रहेका कारण भ्वाइस ओभरको काम छोड्यौ होला भनेर नबोलाएको’ जवाफ दिनुभयो,’ सबाले लेखेकी छन्।

उनले अगाडि लेखेकी छन्, ‘के हामी अहिले पनि त्यो अन्धकार युगमा बाँचिरहेका छौं, जहाँ हामी मान्छौं कि एक सफल साथीसँग सम्बन्धमा एक महिलालाई आफ्नो भोजनको व्यवस्था गर्नुपर्दैन? या उसलाई आफ्नो भाडा र बिल तिर्नुपर्दैन? या उसलाई आफ्नो काममा गर्व हुँदैन। र उसलाई आफ्नो र आफ्नो परिवारको ख्याल राख्नुपर्दैन? यो दुःखद रुपमा पितृसत्तात्मक मानसिकता हो।’

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शुक्रबार, जेठ ३२, २०८१  १५:५३
Weather Update