
काठमाडौं— जारी टी२० विश्वकपबाट श्रीलंका बाहिरिएको छ। गएराती सम्पन्न समूह डी अन्तर्गतको खेलमा बङ्गलादेशले नेदरल्याण्ड्सलाई पराजित गरेसँगै श्रीलंका सुपर आठको दौडबाट बाहिरिएको हो।
यस खेलमा बङ्गलादेशले नेदरल्याण्ड्सलाई २५ रनले पराजित गरेको थियो।
बङ्गलादेशले दिएको १६० रनको लक्ष्य पछाएको नेदरल्याण्ड्सले २० ओभरमा ८ विकेट गुमाउँदै १३४ रन बनाएपछि बंगलादेश २५ रनले विजयी भएको थियो। यस अघि बङ्गलादेशले पहिला ब्याटिङ गर्दै २० ओभरमा ५ विकेट गुमाएर १५९ रन बनाएको थियो।
यो खेलपछि समूह डी मा बङ्गलादेश ३ खेलमा २ जित र एक हारसँगै ४ अंक भएको छ र दोस्रो स्थानमा रहेको छ। त्यस्तै नेदरल्याण्ड्सको ३ खेलमा एक जित र २ हारसहित २ अंक छ र तेस्रो स्थानमा छ। यसै समुहमा रहेको नेपालको २ खेलमा एक अंक रहेको छ।
त्यस्तै श्रीलंकाले ३ खेलमा २ हार र नेपालविरुद्धको खेल वर्षाले रद्द हुँदा एक अंक हासिल गरेको छ। योसँगै श्रीलंकाको विश्वकप यात्रा समुह चरणबाटै सकिएको छ।
यस समूहबाट दक्षिण अफ्रिकाले लगातार तीन खेलमा जित हासिल गर्दै सुपर आठमा पुगिसकेको छ। अब सुपर आठको दौडमा बंगलादेश नेदरल्याण्ड्स र नेपाल रहेका छन्।
अब दक्षिण अफ्रिका र नेपालबीच शनिबार बिहान खेल हुने छ भने जुन १७ मा नेपाल र बङ्गलादेशबीच खेल हुँदै छ । त्यस्तै जुन १७ मै नेदरल्याण्ड्स र श्रीलंका खेल्ने छन्।