
काठमाडौं— टी२० विश्वकपमा बङ्गलादेशले नेदरल्याण्ड्सलाई २५ रनले हराउँदै सुपर ८ मा पुग्ने सम्भावना बलियो बनाएको छ।
बङ्गलादेशले प्रस्तुत गरेको १ सय ६० रनको लक्ष्य पछ्याउने क्रममा नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १३४ रनमात्र बनाउन सक्यो ।
समूह डी मा बङ्गलादेशको यो दोस्रो जित हो। ३ खेलबाट टोलीले ४ अङ्क बटुलेको छ। नेदरल्याण्ड्स भने २ अङ्कमा सीमित रहेको छ।
यो समूहबाट ३ खेलबाट ६ अङ्क बटुल्दै दक्षिण अफ्रिकाले यसअघि नै अर्को चरणमा स्थान बनाइसकेको छ। यही समूहमा नेपाल पनि रहेको छ। २ खेलबाट नेपालको एक अङ्क छ। ३ खेल खेलेको श्रीलङ्काको पनि एक अङ्क मात्र रहेको छ।
नेदरल्याण्ड्सका लागि साइब्रान्ड एन्जलबर्चले सर्वाधिक ३३ रन जोडे। २२ बलमा उनले ३ चौका र १ छक्का प्रहार गरे। विक्रमजित सिंहले १६ बलमा २६ रन बनाए। उनले ३ छक्का प्रहार गरे। त्यस्तै, कप्तान स्कट एडवड्र्सले २३ बलमा २५ रनको योगदान दिए।
ओपनर माइकल लेभिटले १८ रन, आर्यन दत्तले १५ रन तथा म्याक्स ओ डाउडले १२ रन बनाए । बङ्गलादेशका लागि रिसाद होसेनले ३ विकेट हात पारे। ४ ओभर बलिङ गर्दै उनले ३३ रन खर्चिए।
खेलमा टस हारेर पहिले ब्याटिङ गरेको बङ्गलादेशले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १५९ रन बनाएको थियो।
टोलीका लागि शकिब अल हसनले अर्धशतकीय इनिङ्स खेले। उनले ४६ बलमा नटआउट रहँदै ६४ रन जोडे। यस क्रममा उनले ९ चौका प्रहार गरे। ओपनर तान्जिद हसनले २६ बलमा ३५ रनको योगदान दिए। उनले ५ चौका र १ छक्का प्रहार गरे।
त्यस्तै, मोहम्दुल्लाहले २१ बलमा २५ रन जोडे । यस क्रममा उनले २ चौका र २ छक्का प्रहार गरे। जाकेर अलीले ७ बलमा ३ चौका प्रहार गर्दै १४ रन बनाए।
नेदरल्याण्ड्सका लागि आर्यन दत्त र पाउल भान मेकरेनले २–२ विकेट हात पारे। मेकरेनले ४ ओभरमा मात्र १५ रन खर्चिए भने दत्तले ४ ओभर बलिङ गर्दै १७ रन दिएका थिए।