
काठमाडौं— ओमनमाथि शानदार जित हासिल गर्दै साबिक विजेता इङ्ग्ल्याण्डले सुपर ८ मा पुग्ने सम्भावना कायम राखेको छ। शुक्रबार बिहान भएको खेलमा इङ्ग्ल्याण्डले ओमनलाई ८ विकेटले पराजित गर्यो।
४८ रनको झिनो लक्ष्य इङ्ग्ल्याण्डले ३.१ ओभरमा मात्र २ विकेटको क्षतिमा पछ्यायो। कप्तान जोस बट्लरले नटआउट ८ बलमा २४ रन बनाए। उनले यस क्रममा ४ चौका र एक छक्का प्रहार गरे।
ओपनर फिल साल्टले ३ बलमा १२ रन जोडे। उनले सुरुवाती दुई बललाई नै छक्का प्रहार गरेका थिए। जोनी बेयस्ट्रो ८ रनमा नटआउट रहे।
यसअघि पहिले ब्याटिङ गरेको ओमानले १३.२ ओभरमा अलआउट हुँदै मात्र ४७ रन बनाउन सक्यो। सोएब खानले २३ बलमा ११ रन जोड्नु बाहेक अन्य ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन्।
टोलीका लागि आदिल रसिद ४ ओभरमा ११ रन खर्चेर ४ विकेट लिए। जोफ्रा आर्चर र मार्क वुडले ३–३ विकेट लिए। दुवैले १२–१२ रन मात्र खर्चिए।
समूह ‘बी’मा इङ्ग्ल्याण्डको यो पहिलो जित हो। टोली ३ अङ्कसहित तेस्रो स्थानमा रहेको छ। तर, आजको जितले टोलीको नेट रन रेट ३.०८१ पुगेको छ।
ओमनको भने यो चौथो खेल हो। यसअघि नै प्रतियोगिताबाट बाहिरिइसकेको टोली हालसम्म अङ्कविहीन रहेको छ।