News Griha :: न्यूजगृह
नेपाली फुटबल टोली स्वदेश फिर्ता

काठमाडौं— फिफा विश्वकप–२०२६ एसियाली छनोटको दोस्रो चरणको खेलको लागि साउदी अरब गएको नेपाली टोली बिहीबार स्वदेश फिर्ता भएको छ। 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएको टोलीका कप्तान एवं गोलरक्षक किरणकुमार चेम्जोङले खेलमा आफ्नो टोलीले अधिकतम प्रयास गरेको प्रतिक्रिया दिए।

उनले भने, ‘नेपालको प्रतिनिधित्व गर्दै जर्सी लगाएर मैदानमा उत्रिन पाउनु नै हाम्रा लागि ठूलो उपलब्धी हो। हामीले हाम्रोतर्फबाट राम्रो प्रदर्शन गर्यौं। हाम्रो नयाँ टीम हो। म मेरो टीमप्रति गर्व गछु। हामी अझै धेरै अगाडि जानु छ। हाम्रो टीममा धेरै युवाहरु छन्, उनीहरुले देशको लागि अझै गर्नुछ।’ 

नेपाली टोली जेठ २० गते आइतबार बेलुकी साउदीतर्फ गएका थिए। साउदीमा नेपालले फिफा विश्वकप–२०२६ र एसियन कप छनोट अन्तर्गत दोस्रो चरणमा युनाइटेड अरब ईमिरेट्स (यूएई) र यमनविरुद्धको अन्तिम दुई खेल खेलेका थिए। 

अघिल्ला पाँच खेलमा जित र गोलवीहिन खेलेको नेपालले हिजो अन्तिम खेलमा यमनसँग बराबरी खेलेको थियो। खेल साउदी अरबको दम्माम शहरस्थित प्रिन्स मोहमद विन फहद स्टेडियममा भएको थियो।

प्रकाशित मिति: बिहीबार, जेठ ३१, २०८१  १२:४६
Weather Update