News Griha :: न्यूजगृह
प्रहरीले लियो सलमान र अरबाजको बयान 
फाइल तस्बिर

काठमाडौं— मुम्बई प्रहरीले गत अप्रिलमा बलिउड अभिनेता सलमान खानको घर बाहिर भएको गोलाबारी घटनाका बारेमा उनी र अरबाज खानको बयान लिएको छ। 

सलमानले बयानमा आफ्नो घरमा लरेन्स बिस्नोई गिरोहले गरेको गोलाबारी घटनालाई लिएर आफ्नो परिवारको सुरक्षाका लागि चिन्ता व्यक्त गरेका छन्। खानलाई बुधबार मुम्बई क्राइम ब्रान्चले घटनाबारे बयान दिन बोलाएको थियो। एक अधिकारीका अनुसार क्राइम ब्रान्चका चार अधिकारी यसै महिनाको सुरुवातमा सलमान बस्ने बान्द्रास्थित ग्यालेक्सी अपार्टमेन्ट पुगेका थिए। 

ती अधिकारीका अनुसार गत जुन ४ मा पनि प्रहरीले सलमानसँग करिब ४ घण्टा बयान लिएको थियो। त्यस्तै दुई घण्टा बढी समयसम्म अरबाजको बयान लिइएको थियो। ‘गोलाबारीको यो घटना हाम्रो लागि एक गम्भीर खतरा हो। फायरिङ पछि मैले आफ्नो ग्यालरीमा चेक गरेँ, तर बाहिर कोही देखिनँ। केही समय पछि भवनको सुरक्षा गार्डहरुले मलाई यो घटनाबारे जानकारी दिए। मलाई यस किसिमको अपराधका लागि निशाना बनाउनुको कारणबाट म चिन्तित र थकित छु। मैले यसअघि पनि यस्तो घटना झेलेको छु र कैयौँ अदालतले लगाएको सजाय पनि भोगिसकेको छु,’ सलमानको भनाईलाई उद्धृत गर्दै ती अधिकारीले भनेका छन्। 

सलमानको अपार्टमेन्ट बाहिर गत अप्रिल १४ मा मोटरसाइकलमा आएका दुई व्यक्तिले गोली चलाएका थिए। यो गोलाबारी घटनालाई लिएर प्रहरीले आरोपी सुटर बिक्की गुप्ता र सागर पाललाई गुजरातबाट पक्राउ गरेको थियो। प्रहरीले यो घटनाको पछि लरेन्स बिस्नोईको हात रहेको आशंका गरेको छ। यो मामलमा ६ जना पक्राउ परिसकेका छन्। तीमध्ये एक अनुज थापनले एक मेमा प्रहरी हिरासतमा आत्महत्या गरेका थिए।

प्रहरीका अनुसार गिरोहका चार सदस्यले बान्द्रामा सलमानको घर आसपासको इलाका पनवेलमा उनको फार्महाउसको रेकी गरेका थिए। उनीहरु सलमान खान सुटिङ गर्ने स्थानमा पनि पुगेका थिए।

प्रकाशित मिति: बिहीबार, जेठ ३१, २०८१  १०:१४
Weather Update