News Griha :: न्यूजगृह
फ्लोरिडामा अत्याधिक वर्षा, नेपाली टिम वेस्टइन्डिज जान पाएन 

काठमाडौं— आईसीसी टी–२० विश्वकप क्रिकेटका लागि नेपाली टिम बुधबार नै वेस्टइन्डिज जानु पर्नेमा मौसम खराबका कारण अमेरिकामै रोकिएको छ। फ्लोरिडामा मंगलबार श्रीलंकाविरुद्धका खेल खराब मौसमका कारण हुन नसक्दा दुवै टिमले अंक बाँडेका थिए।

समूह चरणका २ खेल खेल्नका लागि नेपाली टिम बुधबार वेस्टइन्डिज प्रस्थान गर्ने तालिका रहेको थियो। नेपालले वेस्टइन्डिजमा दक्षिण अफ्रिका र बंगलादेशसँग खेल्ने छ। वेस्टइन्डिजमा स्टार लेगस्पिनर सन्दीप लामिछानेले नेपाली टोलीलाई पर्खिएका छन्। अमेरिका जान नपाएका सन्दीपले वेस्टइन्डिजमा दक्षिण अफ्रिका र बंगलादेशविरुद्धको खेल भने खेल्ने छन्।

अहिले पनि फ्लोरिडाको मौसम अत्यन्त खराब रहेकाले अधिकांश हवाई उडानहरू रद्द भएका छन्। मंगलबारदेखिको झरी बुधबार पनि कायम रह्यो भने बिहीबार पनि मौसम खराब हुने भन्दै त्यहाँको राष्ट्रिय मौसम विभागले अलर्ट (सूचना) जारी गरेको छ।

जसका कारण फोर्ट लाउडरडेल हलिउड अन्तर्राष्ट्रिय एअरपोर्ट र मायमी अन्तर्राष्ट्रिय एअरपोर्टका नियमित उडान प्रभावित भएका हुन्। मौसम विभागले बाढीको जोखिम रहेको भन्दै घरभन्दा बाहिर ननिस्कन सबैलाई आग्रह गरेको छ। नेपालले जुन १५ मा दक्षिण अफ्रिकासँग खेल्ने तालिका रहेको छ। 

पहिलो खेलमा नेदरल्याण्ड्ससँग पराजित भएको नेपाल दोस्रो खेल वर्षाका कारण रद्द हुँदा श्रीलंकासँग एकएक अंक बाँडेको थियो। 

प्रकाशित मिति: बिहीबार, जेठ ३१, २०८१  ०७:१६
Weather Update