काठमाडौं— कुवेतको माङ्गाफस्थित एक लेबर क्याम्पमा आगलागी हुँदा ५ जना नेपालीले झ्यालबाट हामफालेर ज्यान जोगाएका छन्। आगलागीमा परी मृत्यु हुनेको संख्या ४९ पुगेको छ। मृत्यु हुने श्रमिकहरू कुन देशका हुन् भनेर पहिचान भइसकेको छैन।
झापाका दोर्जे लामा, सिराहाका शिवशङ्कर पासवान, दिनेशकुमार मण्डल, सन्तोषकुमार गोटी र जाकिर नदपले हामफालेर ज्यान जोगाएका हुन्।
हामफाल्दा लामा, मण्डल र पासवान घाइते भएका छन्। उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। गोटी र जाकिरलाई अस्पतालमा भर्ना गरिएको छैन।
उनीहरूलाई भेट्न नेपाली दुतावासका प्रथम सचिव सुजन बिडारी र श्रम सहचारी गिरी आचार्य अस्पताल पुगेका थिए। कुवेतको एनबीटीसी कम्पनीमा कार्यरत श्रमिकहरू बस्ने क्याम्पमा आगलागी भएको थियो।
नेपाली दुतावासको अनुसार आगलागीमा नेपाली श्रमिक परे वा नपरेको विषयमा खोजी भइरहेको जनाएको छ।
स्थानीय समय अनुसार बुधबार बिहान साढे ४ बजे क्याम्पको तल्लो तलाको एउटा कोठाबाट आगो सल्किएको थियो। कम्पनीमा करिब एक सय ९६ जना श्रमिक बस्दै आएका थिए। आगलागीमा ४८ जना घाइते छन्। उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।