
काठमाडौं— पछिल्लो समय नेपाल क्रिकेट संघ (क्यान) भित्र भइरहेको विवाद र अनियमितताबारे संसद्मा प्रश्न उठेको छ।
आज बसेको प्रतिनिधि सभा बैठकमा नेकपा एमालेका सांसद भीमप्रसाद आचार्यले क्यान भित्र अनियमितता भएको दाबी गर्दै त्यसको छानबिन गर्न माग गरेका हुन्।
बैठकको आकस्मिक समयमा बोल्दै सांसद आचार्यले संयुक्त राज्य अमेरिका र वेस्ट इन्डिजमा संयुक्तरुपमा भइरहेको आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगीतामा क्यानले क्रिकेटर सन्दीप लामिछानेलाई १५ सदस्यीय टोलीमा समावेश नगरेको, राम्रो खेलाडीलाई हटाएर टोलीलाई हराउन लागेको र अमेरिकामा उठाएको चन्दा क्यानले आफ्नो खातामा नराखी दुरुपयोग गरेको विषय बाहिर आएको उल्लेख गरे।
त्यस्तै सांसद आचार्यले ब्याट र नेपालको जर्सीमा रकम हिनामिना भएको, नेपालीले प्राप्त गरेको चार सय टिकट र २० ‘भीआईपी पास’ पनि अवैध रुपमा बिक्री गरेकोलगायत विषयमा गुनासो आएकाले यस विषयमा सरकारले तत्काल छानबिन गर्नुपर्ने माग गरेका हुन्।