News Griha :: न्यूजगृह
टी२० विश्वकपः  ‘सुपर–८’ मा पुग्ने पहिलो टोली बन्यो दक्षिण अफ्रिका 

काठमाडौं— आईसीसी टी२० विश्वकपको नवौँ संस्करणमा दक्षिण अफ्रिका ‘सुपर–८’ मा पुग्ने पहिलो राष्ट्र बनेको छ।

विश्वकपअन्तर्गत बुधबार बिहान हुने भनिएको नेपाल र श्रीलङ्काबीचको खेल वर्षाका कारण रद्द भएसँगै दक्षिण अफ्रिका अघिल्लो चरणमा प्रवेश गरेको हो।

समूह चरणको अन्तिम खेल खेल्नुअघि नै दक्षिण अफ्रिका अघिल्लो चरणमा पुगेको हो। समूह ‘डी’ मा रहेको दक्षिण अफ्रिकाले आफूले खेलेको अघिल्ला तीनवटै खेलमा जित हात पारेको छ। दक्षिण अफ्रिका ६ अङ्कसहित तालिकाको पहिलो स्थानमा छ।

दुई खेल खेलेको बङ्गलादेश दुई अङ्कसहित दोस्रो र दुई खेल खेलेको नेदरल्याण्ड्स दुई अङ्कसहित तेस्रो स्थानमा छन्। दुई खेल खेलेको नेपाल भने एक अङ्कसहित तालिकाको चौथो स्थानमा छ। तीन खेल खेलेको श्रीलङ्काले पनि एक अङ्कमात्र बटुल्न सकेको छ।

समूह ‘डी’ को बाँकी खेलमा अब बङ्गलादेशले नेदरल्याण्ड्स, नेपालले दक्षिण अफ्रिका, बङ्गलादेशले नेपाल र नेदरल्याण्ड्सले श्रीलङ्काको सामना गर्नेछन्। उक्त समूहमा अब बङ्गलादेश र नेदरल्याण्ड्समध्ये एक टोलीको मात्र ६ अङ्क पुग्न सक्ने सम्भावना छ।

त्यसैले यसअघि नै तीन खेलबाट ६ अङ्क बटुलिसकेको दक्षिण अफ्रिका ‘सुपर–८’ चरणमा पुगेको हो। दक्षिण अफ्रिकाले आफ्नो पहिलो खेलमा श्रीलङ्कालाई ६ विकेटले, दोस्रो खेलमा नेदरल्याण्ड्सलाई चार विकेटले र तेस्रो खेलमा बंगलादेशलाई चार रनले हराएको थियो।

यसअघि एसियाली राष्ट्र ओमान नवौँ टी–२० विश्वकपको उपाधि होडबाट बाहिरिने पहिलो टोली बनेको थियो। समूह ‘बी’ मा रहेको ओमानले सुरुको तीनवटै खेलमा हार भोगेको छ। नेपालले भने अब आफ्नो दुवै खेल क्यारेबियन राष्ट्रमा खेल्नेछ। 

प्रकाशित मिति: बुधबार, जेठ ३०, २०८१  ०७:३२
Weather Update