News Griha :: न्यूजगृह
टी२० विश्वकपमा पाकिस्तानको पहिलो जित, क्यानडा ७ विकेटले पराजित

काठमाडौं— ओपनर मोहम्मद रिजवानको अर्धशतकप्रेरित पाकिस्तानले जारी आईसीसी टी२० विश्वकपमा क्यानडाविरुद्ध ७ विकेटको जित निकालेको छ।

मंगलबार न्युयोर्कमा सम्पन्न खेलमा क्यानडाले दिएको १०७ रनको लक्ष्य पाकिस्तानले १७.३ ओभरमा ३ विकेट गुमाएर पूरा गर्‍यो।

जारी प्रतियोगितामा पाकिस्तानले तेस्रो खेलमा पहिलो जित निकालेको हो। पाकिस्तानको जितमा ओपनर रिजवानले अविजित ५३ रन बनाए। उनले ५३ बलमा दुई चौका र एक छक्का प्रहार गरे। रिजवानले कप्तान बाबर आजमसँग ६३ रनको साझेदारी गर्दै पाकिस्तानलाई जित नजिक पुर्‍याएका थिए।

आजमले ३३ बलमा समान एक चौका र छक्कासहित ३३ रन बनाए। त्यस्तै सैम अयुवले ६ र फखरले जमानले चार रन जोड्दा उस्मान खानले दुई रन थपे। क्यानडाका दिलोन हाइलिजरले दुई र जेरेमी गोर्डोनले एक विकेट हात पारे।

त्यसअघि टस हारेर ब्याटिङमा आएको क्यानडाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १०६ रनको योगफल खडा गरेको थियो।

क्यानडाका आरोन जोन्सनले सर्वाधिक ५२ रन बनाए। कलिम सानाले १३ र कप्तान साद बिन जफरले १० रन बनाए। यसबाहेक, अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्।

पाकिस्तानका मोहम्मद आमिर र ह्यारिस रौफले समान दुई विकेट लिए। साहिन साह अफ्रिदी र नसिम साहको नाममा समान एक विकेट लिए। 

प्रतियोगितामा पहिलो जित निकालेको पाकिस्तान तीन खेलबाट दुई अंक जोडेको पाकिस्तान तालिकाको तेस्रो स्थानमा छ। पाकिस्तानले यसअघि अमेरिकासँग सुपर ओभरमा र भारतसँग ६ रनको हार बेहोरेको थियो। समान खेलबाट दुई अंक जोडेको क्यानडा तालिकाको चौथो स्थानमा छ।

प्रकाशित मिति: बुधबार, जेठ ३०, २०८१  ०६:०३
Weather Update