News Griha :: न्यूजगृह
नेपाल र श्रीलङ्काको खेलमा वर्षा बाधक
तस्बिरः क्यान

काठमाडौं— आईसीसी पुरुष टी२‍० विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बुधबार टेस्ट मान्यता प्राप्त राष्ट्र श्रीलङ्कासँग खेल्दैछ।

अमेरिकाको फ्लोरिडास्थित ब्रोआर्ड काउन्टी रङ्गशालामा हुने उक्त खेल नेपाली समयअनुसार बिहान ५:१५ बजेदेखि सुरु हुनुपर्ने थियो। तर खेल वर्षाका कारण ढिलो भएको छ।  मैदान भएको क्षेत्रमा ठूलो पानी परेर केहीबेर अघि मात्र रोकिएको छ।

image-1718151664.jpg
मैदान तयार गरिँदै

सिनियर क्रिकेट प्रतियोगितामा नेपाल र श्रीलङ्का पहिलो पटक आमनेसामने हुन लागेका हुन। उमेर समूहमा भने यी दुई टोलीबीच पटकपटक भेट भइसकेको छ। नेपालले टेष्ट राष्ट्र श्रीलङ्कालाई हराउँदै आफ्नो विश्वकप यात्रालाई अगाडि बढाउने प्रयासमा रहनेछ।

लगातार दुई खेलमा पराजित श्रीलङ्काले पनि नेपाललाई हराउँदै विश्वकपको अघिल्लो चरण प्रवेशको सम्भावनालाई जीवितै बनाउन चाहन्छ।

नेपाललाई विश्वकपको सुपर आठमा प्रवेश गर्नका लागि पनि बाँकी खेल जित्नुपर्ने दबाब छ। विश्वकपमा प्रत्येक समूहका शीर्ष दुई टोली अर्को चरणमा पुग्नेछन्।

नेपाल आफ्नो पहिलो खेलमा नेदरल्याण्ड्ससँग ६ विकेटले पराजित भएको थियो। श्रीलङ्का दक्षिण अफ्रिकासँग ६ विकेट र बङ्गलादेशसँग दुई विकेटले पराजित भएको थियो। 

rohit-paudel-1718149516.jpgनेपाली टोलीका कप्तान रोहित पौडेलले श्रीलङ्काविरुद्धको खेल नेपालका लागि टेस्ट राष्ट्रविरुद्ध जित हासिल गर्ने पहिलो अवसरको रुपमा रहेको बताएका छन्। 

उनले विश्वकप क्रिकेट प्रतियोगितामा एसोसिएट राष्ट्रले पनि टेस्ट राष्ट्रलाई पराजित गरेको इतिहास रहेको भन्दै आफ्नो टोलीले उच्च मनोबलका साथ श्रीलङ्का विरुद्धको खेलमा जित निकाल्ने विश्वास व्यक्त गरे। 

विश्वकप अघि नेपालले फ्लोरिडामै क्यानडाविरुद्ध एक अभ्यास खेल खेलेको थियो। जसमा नेपाल क्यानडासँग पराजित भएको थियो। फ्लोरिडामै श्रीलङ्काले भने दुई अभ्यास खेल खेलेको थियो। 

पहिलो खेलमा नेदरल्याण्ड्ससँग हारेको श्रीलङ्काले दोस्रो खेलमा आयरल्याण्डलाई पराजित गरेको थियो। विश्वकपमा नेपालको यो दोस्रो सहभागिता हो। यसअघि नेपालले सन् २०१४ मा पहिलो पटक विश्वकप खेलेको थियो।

 

प्रकाशित मिति: बुधबार, जेठ ३०, २०८१  ०५:३०
Weather Update