
काठमाडौं— अन्तिम मिनेटमा अग्रता जोगाउन नसक्दा फिफा विश्वकप २०२६ एसियाली छनोटको दोस्रो चरणको अन्तिम खेलमा मंगलबार नेपालले यमनसँग अंक बाँडेको छ।
अघिल्ला ५ खेलमा जित र गोलविहीन नेपालले साउदी अरबको दम्माम शहर स्थित प्रिन्स मोहमद विन फहद स्टेडियममा यमन विरुद्ध २–२ को बराबरी खेल्दै दोस्रो चरणको पहिलो अंक जोडेको हो ।
नेपालका लागि फरवार्डद्वय सञ्जीव विष्ट र जिलेस्पी जंग कार्कीले १–१ गोल गरे। दुवै खेलाडीका लागि यो गोल अन्तर्राष्ट्रिय करियरको पहिलो गोल हो।
नवौँ मिनेटमा पेनाल्टी मार्फत नेपालले गोल खान पुगेको थियो। बक्स भित्र मनिष डाँगीले रमी अलवासमानी माथि फाउल गरेपछि पाएको पेनाल्टीमा नसीम अलगाहवाहीले गोल गर्दै यमनलाई अग्रता दिलाएका थिए।
त्यसपछि नेपालले खेलको २३औं मिनेटमा बराबरी गोल गरेको हो। एक गोलले पछि परेको अवस्थामा डिफेन्डरले किपरका लागि खेलेको ब्याकपासमा बल भेटाउँदै सञ्जीवले बक्स भित्रबाट खेलमा बराबरी गोल गरेका थिए।
६६औं मिनेटमा नेपालले खेलमा अग्रता दियो। छिरिङ लामाले खेलेको क्रसमा सञ्जीवकै हेडर जिलेस्पीलाई लागेर गोलमा परिणत भएको थियो।
तर इन्जुरी समयको पहिलो मिनेटमा यमनले मोहम्मद अलदाहीको गोल मार्फत बराबरी गर्दै एक अंक लिन सफल भएको हो। नेपालले यस खेल अघि कुनै पनि गोल नगर्दा ५ खेलमा १८ गोल खान पुगेको थियो। तर अन्ततः नेपालले २ गोल गर्न सफल भएको हो।
नेपालले समूहमा ६ खेलमा १ अंक सहित दोस्रो चरणको यात्राको अन्त्य गरेको छ। नेपाल रहेको समूह ‘एच’ मा यूएईले १६ अंक सहित पहिलो हुँदै र बहराइन ११ अंकसहित दोस्रो हुँदै छनोटको तेस्रो चरणमा प्रवेश गरेका छन्। यस्तै ५ अंक सहित तेस्रो भएको यमन र नेपालले एसियन कप छनोटको तेस्रो चरण खेल्ने छन्।