News Griha :: न्यूजगृह
सलमानलाई आरोपीबाट हटाउन अदालतको आदेश
फाइल तस्बिर

काठमाडौं— बलिउड अभिनेता सलमान खान लगातार बिश्नोई समूहको निशाना बनिरहेका छन्। समूहले लगातार अभिनेताको हत्या गर्न योजना बनाइरहेको चर्चा बाहिर आएको छ।

गत अप्रिलमा सलमानको बान्द्रास्थित घर बाहिर बन्दुक फायरिङ समेत भएको थियो। घटनाका सम्बन्धमा क्राइम ब्रान्चले अनुज थापनसहित फायरिङमा संलग्न दुई आरोपी बिक्की गुप्ता र सागर पाललाई गुजरातमा पक्राउ गरेको थियो।

यद्यपि मे १ मा अनुजको प्रहरी हिरासतमै मृत्यु भएको थियो। उनको शव क्राइम ब्रान्चको शौचालयमा भेटिएको थियो। घटनापछि अनुजकी आमा रीता देवीले सलमानविरुद्ध उजुरी दर्ता गरेकी थिइन्। अहिले अदालतले सुनुवाइका क्रममा सलमानको नाम उजुरीबाट हटाउन आदेश दिएको छ।

गत सोमबार न्यायाधीश रेवती ढेरे र श्याम चन्दको बेन्चले सलमानको नाम उजुरीबाट हटाउने फैसला गरेको छ। ‘उनको नाम उजुरीबाट हटाउनु। यो मामलामा सलमानविरुद्ध केही पनि छैन भने उनलाई प्रतिवादी बनाउनुको अर्थ के?’ आदेशमा भनिएको छ, ‘तपाईं आफ्नो छोराको मृत्युबाट चिन्तित हुनुहुन्छ। यसलाई अदालतले हेर्नेछ। तर उजुरीमा प्रतिवादी बनाउनुको कुनै अर्थ छैन।’ 

अनुजलाई अप्रिल २६ मा पञ्जावबाट आरोपीलाई हतियार उपलब्ध गराएको आरोपमा प्रहरीले पक्राउ गरेको थियो।

प्रहरीले अनुजले आत्महत्या गरेको भने पनि उनकी आमा रीताले भने छोराको आत्महत्या नभइ हत्या भएको दाबी गर्दै आएकी छन्। उनले यो मामलामा सीबीआईबाट अनुसन्धान हुनुपर्ने माग गरेकी थिइन्। उजुरीमा अनुजमाथि प्रहरीले हिरासतमा धेरै कुटपिट गरेको र उसलाई यातना दिइएको उल्लेख थियो।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: मंगलबार, जेठ २९, २०८१  १४:१३
Weather Update