News Griha :: न्यूजगृह
शोभा पाठक ५ दिन थुनामा रहने

काठमाडौं— साइबर अपराधको कसुरमा पक्राउ परेकी शोभा पाठकलाई ५ दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले म्याद थप गरेको छ।

एमाले नेता महेश बस्नेतविरुद्ध उजुरी दिएर चर्चामा आएकी उनलाई प्रहरीको साइबर ब्युरोले उनलाई सोमबार ललितपुरको पुल्चोकबाट पक्राउ गरेको हो।

सामाजिक सञ्जालमार्फत विभिन्न व्यक्तिको चरित्रहत्या हुने खालका अभिव्यक्ति दिएको उजुरीका आधारमा पक्राउ गरिएको ब्युरोले जनाएको छ।

धादिङको ज्वालामुखी गाउँपालिका– ७ घर भएकी उनको वास्तविक नाम जानुका पाठक रहेको प्रहरीको भनाइ छ। उनी शोभा नामले चिनिन्छिन्।

प्रहरीका अनुसार, ३१ वर्षीया शोभाले आर्थिक लाभका निम्ति विभिन्न व्यक्तिसँग सम्बन्ध जोड्ने र ब्याल्कमेल गर्ने गरेको उजुरीमा उल्लेख छ।

उनले महेश बस्नेतविरुद्ध यौन शोषण र बलपूर्वक भ्रूणहत्याको आरोप लगाउँदै प्रहरीमा उजुरी दिएकी थिइन्। तर, प्रहरी र सरकारी वकिलले बस्नेतविरुद्ध मुद्दा चल्न सक्ने आधार नदेखिएको भन्दै फाइल तामेलीमा राख्ने निर्णय गरेका थिए।

प्रकाशित मिति: मंगलबार, जेठ २९, २०८१  ०७:२१
Weather Update