News Griha :: न्यूजगृह
पूर्वमन्त्री महेश बस्नेतविरुद्ध जाहेरी: भ्रूण हत्या, बलात्कार र डाँका चोरीको आरोप

काठमाडौं — नेकपा एमालेका नेता एवम् पूर्वमन्त्री महेश बस्नेतविरुद्ध फौजदारी कसुरको जाहेरी दर्ता भएको छ। मुलुकी अपराध संहिता–२०७४ अनुसार उनी विरुद्ध प्रहरीमा फौजदारी कसुरमा जाहेरी  दर्ता भएको हो।

पार्टीकै सङ्गठित ३१ वर्षीय महिलाले उनीविरुद्ध भ्रूण हत्या, बलात्कार र डाँका चोरी मुद्दामा प्रतिवादी बनाएर जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दर्ता गराएकी हुन्। पीडितले हुलाकमार्फत पठाएको जाहेरी दर्ता भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी भूपेन्द्र खत्रीले बताए। उनले भने, ‘जाहेरी दर्ता गरेका छौँ ।’

बस्नेतले आफूलाई दुई पटक बलात्कार गरेको पीडितको दाबी छ। जाहेरीमा काठमाडौं बबरमहलस्थित एक अपार्टमेन्ट र भारतको गुडगाउँस्थित तुलसी हेल्थकेयर अस्पतालमा बलात्कार गरेको उल्लेख छ।

बस्नेतमाथि २ महिना १५ दिनको भ्रूण हत्या गरेको पनि आरोप छ। औषधी खुवाएर र अप्रेसन गरेर दुई पटक भ्रूण हत्या गरेको पीडितले आरोप लगाएकी छन्। मुलुकी अपराध संहिता ०७४ को दफा–१८८ को विपरीत भ्रूण हत्या गरेको कसुरमा बस्नेतलाई कारबाही गर्न माग गरिएको छ।

बलात्कार र भ्रूण हत्याको प्रमाण लुकाउन बस्नेतको निर्देशनमा आफू बस्ने अपार्टमेन्टमा डाँका चोरी भएको पनि पीडितको दाबी छ।

बस्नेत सुशील कोइराला नेतृत्वको मन्त्रिपरिषद्मा उद्योगमन्त्री थिए। पीडितले जाहेरीमा दाबी गरेअनुसार प्रहरीले प्रमाण सङ्कलन गरिरहेको छ। जाहेरी दर्ता भएसँगै राष्ट्रिय युवा संघको संयोजक समेत रहेका बस्नेतलाई प्रहरीले सोधपुछ पनि गरेको छ।  पीडित युवतीले चैत ७ मा प्रहरीमा जाहेरी दिएकी हुन् । 

प्रकाशित मिति: आइतबार, चैत २५, २०८०  १७:२७
Weather Update