News Griha :: न्यूजगृह
मनसुन प्रणाली भित्रिएकै दिन धनगढीमा सबैभन्दा धेरै गर्मी, काठमाडौंमा कति पुग्यो तापक्रम?  

काठमाडौं— केही दिनयता देशका धेरै स्थानमा तापक्रम बढेको छ। काठमाडौंसहित विशेष गरी तराई क्षेत्रमा गर्मी बढेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। सोमबार (जुन १०) ‘सबैभन्दा बढी’ तापक्रम धनगढीमा ४४ डिग्री सेल्सियस मापन गरिएको छ। 

महाशाखाले सोमबार सार्वजनिक गरेको २० स्थानको विवरणमध्ये नेपालगञ्जको अधिकतम तापक्रम ४३.६ डिग्री सेल्सियस मापन गरिएको छ। वीरेन्द्रनगरको अधिकतम तापक्रम ४०.९, दिपायलको ४०.७, भैरहवाको ३९.८, घोराहीको ३९.६, सिमराको ३७.५, जनकपुरको अधिकतम तापक्रम ३७ डिग्री सेल्सियस मापन गरिएको छ।

सोमबार काठमाडौंको अधिकतम तापक्रम ३४.४ डिग्री सेल्सियस मापन गरिएको छ।  महाशाखाका अनुसार, यो वर्ष काठमाडौंको सबैभन्दा बढी तापक्रम जेठ १७ र जेठ ११ मा पनि समान ३४.४ डिग्री सेल्सियस नै मापन गरिएको थियो।

आइतबार काठमाडौंको अधिकतम तापक्रम ३३.८ डिग्री सेल्सियस थियो। महाशाखाका अनुसार, काठमाडौंको हालसम्मकै उच्च तापक्रम भने ३६.६ डिग्री सेल्सियस हो।

सन् १९८९ मे ७ मा काठमाडौंको अधिकतम तापक्रम ३६.६ डिग्री सेल्सियस मापन गरिएको थियो। त्यसयता उक्त ‘रेकर्ड ब्रेक’ नभएको महाशाखाले जनाएको छ। यो वर्षको मनसुन प्रणाली सोमबार नेपाल भित्रिएको छ

प्रकाशित मिति: सोमबार, जेठ २८, २०८१  २०:२९
Weather Update