News Griha :: न्यूजगृह
नेपाल भित्रियो यो वर्षको मनसुन  

काठमाडौं— यो वर्षको मनसुन आजबाट नेपाल भित्रिएको छ।

जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले यस वर्षको मनसुन सरदर भन्दा केही दिन अघि भित्रिएको जनाएको छ। 

नेपालमा सरदर प्रत्येक वर्षको जुन १३ तारिखमा मनसुन भित्रिने गरे पनि यसवर्षको मनसुन भने सरदर भन्दा ३ दिन अगावै भित्रिएको महाशखाले जनाएको छ। 

महाशाखाको बुलेटिन अनुसार नेपालको पूर्वी भूभाग अर्थात् कोशी प्रदेशबाट मनसुन नेपाल प्रवेश गरेको हो। त्यस्तै केही दिनमा नेपालका अन्य भूभागमा क्रमिक रुपमा मनसुन अघि बढ्नेछ।  

नेपालमा दक्षिण हिन्द महासागर, भारतको केरला, बंगालको खाडी, सिक्किम हुँदै नेपालको ताप्लेजुङ–इलामतर्फबाट मनसुन नेपाल प्रवेश गर्छ। नेपालमा सरदर जुन १३ मा मनसुन भित्रिने र अक्टोबर २ तारिखमा बाहिरिने गर्दछ। यद्यपि कहिलेकाहीँ सरदर मितिभन्दा ढिलो–चाँडो पनि हुने गरेको महाशानाले जनाएको छ।

यस वर्षको मनसुन अवधिमा नेपालका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण छ।

पछिल्ला दिनमा पानी नपरेका कारण तराईसहित पहाडका जिल्लाहरुमा समेत अत्यधिक मात्रामा गर्मी बढिरहेको छ। 

प्रकाशित मिति: सोमबार, जेठ २८, २०८१  १४:१५
Weather Update