
धनुषा— मधेस प्रदेश सरकारले नेपाली राष्ट्रिय टोलीका खेलाडीद्वय गुल्सन झा र आरिफ शेखलाई जनही रु २ लाख पुरस्कार दिने भएको छ ।
आईसीसी विश्वकप क्रिकेट लिग–टू अन्तर्गत बिहीबार युनाइटेड अरब इमिरेट्स (यूएई) लाई पराजित गर्दै नेपाल विश्वकप छनोटमा प्रवेश गरेकामा खुसी व्यक्त गर्दै मधेस प्रदेशले टोलीका महत्त्वपूर्ण खेलाडीद्वय झा र शेखलाई पुरस्कार प्रदान गर्ने घोषणा गरेको हो ।
दुवै जना मधेसबाट प्रतिनिधित्व गर्ने खेलाडी रहेको उल्लेख गर्दै प्रदेश सरकारले जनही रु २ लाख प्रोत्साहनस्वरुप दिने निर्णय गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार सीताराम अग्रहरिले जानकारी दिए ।
सानदार जित हासिल गरेकामा मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले नेपाली टोलीलाई बधाई ज्ञापनसमेत गरेका छन् ।
बिहीबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा नेपालले यूएईलाई रोमाञ्चक खेलमा डकवर्थ लुइस नियमका आधारमा ९ रनले पराजित गरेको हो ।
जितसँगै नेपालले एकदिवसीय विश्वकप क्रिकेटको क्वालिफायर खेल्ने तय गरेको छ ।