
काठमाडौं— स्कटल्याण्डले आईसीसी टी–२० विश्वकप २०२४ मा ओमनमाथि ७ विकेटको सानदार जित हात पारेको छ। दोस्रो जितका साथ स्कटल्याण्ड समूह बी मा ३ खेलमा ५ अंकका साथ शीर्षस्थानमा उक्लिदै सुपर ८ को सम्भावना मजबुत बनाएको छ।
जितका लागि १५१ रनको लक्ष्य पछ्याएको स्कटल्याण्डले १३.१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो। स्कटल्याण्डका ब्रेन्डन म्याकमुलनले ३१ बलमा ९ चौका र २ छक्कासहित सर्वाधिक ६१ रनमा नट आउट रहे।
जर्ज मुन्शे २० बलमा २ चौका र ४ छक्कासहित ४१, माइकल जोन्स १६, रिची बेरिंग्टन १३ र म्याथ्यु कस्रले १५ रन जोडे। ओमनका बिलाल खान, अकिब इलियास र मेहरान खानले १–१ विकेट लिए।
त्यसअघि सर भिभियन रिचर्ड्स स्टेडियम नर्थ साउन्डमा टस जितेर पहिला ब्याटिङ रोजेको ओमनले २० ओभरमा ७ विकेट गुमाउदै १५० रन बनाएको थियो। ओमनका ओपनर प्रतिक अथभलेले ४० बलमा ५ चौका र २ छक्कासहित सर्वाधिक ५४ रन बनाए। आयन खान ३९ बलमा ४ चौकासहित ४१ रन बनाए।
नसिम खुसी १०, अकिब इलियास १६, जिशान मकसुद ३ र मेहरान खानले १३ रन बनाए। शफ्यान शरिफले २, मार्क वाट, ब्राड ह्वील, क्रिस सोल र क्रिस ग्रेभ्सले १–१ विकेट लिए।
स्कटल्याण्डले पहिलो खेल वर्षाको कारण इंग्ल्यान्डसँग अंक बाँडेको थियो। त्यसपछि नामिबियालाई हराएको थियो। स्कटल्याण्डले अन्तिम खेल अष्ट्रेलियासँग खेल्नेछ। उक्त खेलमा झिनो अन्तरले पराजित हुँदा पनि सुपर ८ को सम्भावना देखिन्छ।
ओमन पहिलो खेलमा नामिबियासँग सुपर ओभरमा पराजित भएको थियो। त्यसपछि अष्ट्रेलियासँग ३९ रनले पराजित भएको थियो। ओमन भने समूह चरणबाटै बाहिरिने पहिलो टोली बनेको छ ।