News Griha :: न्यूजगृह
भारतसँग पाकिस्तान ६ रनले पराजित, सुपर ८ मा पुग्न कठिन

काठमाडौं— आईसीसी टी-२० विश्वकपमा भारतले चिर प्रतिद्वन्दी पाकिस्तान माथि रेकर्ड कायम राखेको छ। भारतले पाकिस्तान माथि ६ रनको जित निकाल्दै पाकिस्तानको अन्तिम ८ मा पुग्ने सम्भावनामा ठुलो चोट पुर्‍याएको छ। 

पहिलो खेलमा अमेरिकाविरुद्ध हार बेहोरेको पाकिस्तानलाई सुपर-८ मा पुग्न अन्य नतिजामा भर पर्नुपर्ने अवस्था आएको छ। भारतले सबै खेल जितेको खण्डमा अमेरिकाको आयरल्याण्डविरुद्धको हारले पाकिस्तानको अन्तिम आठमा पुग्ने सम्भावना जीवितै राख्ने छ। 

हार पछि पाकिस्तानको सुपर आठमा पुग्ने सम्भावना न्यून बनेको छ।  जितपछि भारतको २ खेलमा ४ अंक भएको छ। अमेरिकाको पनि २ खेलमा ४ अंक छ। क्यानाडाको २ खेलमा २ अंक रहेको छ भने पाकिस्तान २ खेलमा र आयरल्याण्ड १ खेलमा शून्य अंकमा छन्।

न्युयोर्कमा भएको खेलमा भारतले दिएको १ सय २० रनको सामान्य लक्ष्य पछ्याएको पाकिस्तानले ७ विकेटको क्षतिमा १ सय १३ रन मात्र बनाउन सक्यो। एक समय ७२/२ को अवस्थामा रहेको पाकिस्तानले अन्तिम आठ ओभरमा खेल गुमाउन पुग्यो।

पाकिस्तानका लागि  मोहम्मद रिजवानले सर्वाधिक ३१ रन बनाए पनि जित भने दिलाउन सकेनन्। इमाद वासिमले १५ रन बनाए भने बाबर आजम, उस्मान खान र फखर जमानले समान १३ रन बनाए।

भारतको जितमा जस्प्रित बुम्राहले ३ तथा हार्दिक पन्ड्याले २ विकेट लिए। अर्श्दिप सिंह र अक्षर पटेलको नाममा समान १ विकेट रह्यो।  

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको भारतले १९ ओभरमा सबै १० विकेट गुमाउँदै १ सय १९ रन जोडेको थियो । भारतका लागि रिसभ पन्तले ३१ बलमा ६ चौका सहित सर्वाधिक ४२ रन बनाएका थिए। यस्तै अक्षर पटेलले १८ बलमा २० तथा कप्तान रोहित शर्माले १२ बलमा १३ रन बनाए । अन्य ब्याटरले दोहोरो अंक छुन सकेका थिएनन्।

पाकिस्तानका लागि नसिम शाह र हरिस रौफले ३९३ विकेट लिएका थिए भने मोहम्मद आमिरले २ विकेट लिए । १ विकेट शाहिन शाह अफ्रिदीको नाममा रह्यो।

गएराति नै भएको अर्को खेलमा स्कटल्याण्डले ओमानलाई ७ विकेटले हरायो।   

प्रकाशित मिति: सोमबार, जेठ २८, २०८१  ०६:३८
Weather Update